के कारण हुन्छ उच्च रक्तचाप ? यसरी गर्नुहोस् नियन्त्रण

जेष्ठ ३, २०८० |कृपाल गौतम
के कारण हुन्छ उच्च रक्तचाप ? यसरी गर्नुहोस् नियन्त्रण

काठमाडौं । के तपाई बढी चिल्लो, नुनिलो वा सुर्तीजन्य र मदिराजन्य पदार्थको बढी सेवन गर्नुहुन्छ ? या बढी तनाब लिने र निस्क्रिय जीवनशैली बिताइरहनु भएको छ ? यसो हो भने तपाईंलाई उच्च रक्तचापको जोखिम हुन सक्छ । समयमै पत्ता लगाएर नियन्त्रण गर्न सकिएन भने उच्च रक्तचाप प्राणघातक बन्न सक्छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१९ को तथ्यांकअनुसार नेपालमा ४७ लाख वयस्क जनसंख्यामा उच्च रक्तचाप छ । तीमध्ये १५ देखि ६९ वर्ष उमेरसमूहका २४ दशमलव ५ प्रतिशतमा उच्च रक्तचाप छ । यसको मुख्य कारणमा खानपान र जीवनशैलीलाई नै मानिएको छ । खानामा चिल्लो, गुलियो तथा नुनिलोको बढी प्रयोग र सुर्तीजन्य पदार्थ र अत्यधिक मदिराको सेवनलगायतका कारण उच्च रक्तचापको जोखिम बढी हुने चिकित्सकहरु बताउँछन् । यसबाहेक वंशाणुगत, निष्क्रिय जीवनशैली र तनाब पनि उच्च रक्तचापको कारक मानिन्छ ।

कसैकसैलाई टाउको दुख्ने, रिंगटा लाग्नेलगायतका लक्षण देखिए पनि अधिकांशलाई उच्च रक्तचापको लक्षण देखिँदैन । उच्च रक्तचाप नियन्त्रण गर्न सकिएन भने यसले मुटु, मस्तिष्क, मिर्गौला, आँखा, रक्तनलीलगायतमा असर गरेर मानिसको ज्यानै पनि लिन सक्छ ।

खानपानमा ध्यान दिए र स्वास्थ्य जीवनशैली अपनाए रक्तचाप नियन्त्रण गर्न सकिन्छ । योसंगै स्वस्थ व्यक्तिले १ देखि ३ महिनाको अन्तरालमा रक्तचाप परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । अझ दीर्घ रोग भएकाहरुले त १-१ महिना मै परीक्षण गर्नुपर्छ । 

यो पनि...

आगोले पोले के गर्ने ?


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।