डोल्पाको जगदुल्ला गाउँपालिकाले गर्‍यो सबै घरपरिवारको स्वास्थ्य बिमा

चैत्र १६, २०७९ |सरोज थापा
डोल्पाको जगदुल्ला गाउँपालिकाले गर्‍यो सबै घरपरिवारको स्वास्थ्य बिमा

डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बिमागरेको छ । गाउँपालिकाले एकै पटक ५ सय ५९ घरपरिवारको स्वास्थ्य बिमा गरेको हो ।

स्वास्थ्य बिमाकार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सबै घरधुरी समेटिने गरी स्वास्थ्य बिमागरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए । बिमाकार्यक्रममा आबद्ध सबैले यस कार्यक्रममार्फत विभिन्न सेवा सुविधा पाउने र आबद्धता शुल्कसमेत गाउँपालिकालेनै तिरेको अध्यक्ष रोकायले बताए ।

यस कार्यक्रममा सामुदायका सबै घरपरिवार स्वयम् आबद्ध हुने सम्भावना न्यून देखिएपछि आबद्धता शुल्क पनि पालिकालेनै व्यहोर्ने गरी कार्यक्रममा संलग्न गराइएको जगदुल्ला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले स्वास्थ्य बीमाका लागि १९ लाख २८ हजार ८ सय ५० रुपैयाँ स्वास्थ्य बिमाबोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक छिरिङ बुढाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम तय गर्दा स्वास्थ्य बिमाकार्यक्रमलाई प्रथामिकतामा राखेर कार्यक्रम बनाउने बताए । सेवा सुविधा राम्रो पाएमा यस कार्यक्रमलाई स्वयम् परिवारलेनै निरन्तरता दिने उनको भनाइ छ ।

सामुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा बिमितको संख्या नबढेको स्वास्थ्य बिमाबोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए । स्वास्थ्य बिमाकार्यक्रम राम्रो कार्यक्रम भएकाले सुरुमा जिल्लाका सबै स्थानीय तहले सर्बसाधारणहरुलाई कार्यक्रममा समावेश गराउनु पर्ने उनको भनाइ छ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।