सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको स्तरोन्नति हुन सकेन

फाल्गुन २८, २०७९ |टेकराज जोशी
सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको स्तरोन्नति हुन सकेन

धनगढी । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले निकै तामझामका साथ कैलालीको धनगढीमा ६ महिनाअघि उद्घाटन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको अझै स्तरोन्नति हुन सकेको छैन । 

अस्पतालले विशेषज्ञसहितको सेवा दिन नसक्दा निकै कम बिरामीमात्रै उपचारका लागि त्यहाँ पुग्ने गरेका छन् । अझ प्रहरी अस्पताल र स्कुल एउटै परिसरमा राखिएका कारण बालबालिकामा सङ्क्रामक रोग सर्ने जोखिम पनि छ । 

२०५३ सालमा डोटीमा सञ्चालनमा आएको अस्पतालको शाखा गत साउन १६ गतेदेखि धनगढीमा रहेको नेपाल प्रहरी स्कुल परिसरमा सञ्चालनमा ल्याइएको हो । २५ शय्या सञ्चालनमा ल्याइने भनिए पनि हालसम्म ७ वटा शय्या मात्रै सञ्चालनमा छ । विशेषज्ञ चिकित्सक र गुणस्तरीय उपचार नभएका कारण ती शय्या पनि प्राय खाली हुने गरेका छन् । 

अहिले एक जना स्त्रीरोग विशेषज्ञ र एक जना मेडिकल अधिकृतले धनगढीमा उपचार सेवा दिइरहेका छन् भने डोटीमा रहेको अस्पताल पनि एक जना मेडिकल अधिकृतको भरमा छ । तर परीक्षणका लागि आवश्यक उपकरण छैनन् । भएका कतिपय उपकरण पनि जनशक्ति अभावमा थन्क्याइएको छ । 

अन्य अस्पतालको तुलनामा प्रहरी अस्पतालमा उपचार  शुल्क सस्तो छ । ओपिडी शुल्क ६० रुपैयाँ मात्रै छ भने  प्रहरी परिवारलाई त्यहाँ उपलब्ध औषधि निःशुल्क दिने गरिएको छ । स्थानीयले भने विशेषज्ञ चिकित्सकसहितको गुणस्तरीय उपचार सेवा नपाएको गुनासो गरेका छन् ।

डोटी  र धनगढीमा गरी विशेषज्ञ सहित ५१ जनाको दरबन्दी छ । तर एक जना विशेषज्ञ सहित ३ जना मात्र चिकित्सक छन् । औषधि खरिदका लागि वाषिर्क ४५ लाख बजेट अस्पतालमा आउने गरेको छ । अहिले प्रहरी अस्पताल र स्कुल एउटै कम्पाउन्ड राखिएको छ । जसका कारण स्कुलमा अध्ययनरत विद्यार्थीलाई संक्रामक रोग सर्ने जोखिम छ । 

यो विषयमा सुरुमा नै प्रहरी अधिकारीलाई जानकारी गराइदा पनि बेवास्ता गरिएको विद्यालय व्यवस्थापनले जनाएको छ । नामको मात्रै प्रदेश अस्पताल नभई गुणस्तरीय सेवा दिने गरी विशेषज्ञ सहितको अस्पताल स्थापना गर्न स्थानीयले आग्रह गरेका छन् ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।