ल्याबका सामग्री प्रयोगविहीन, सामान्य जाँचका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता

फाल्गुन १८, २०७९ |सरोज वली
ल्याबका सामग्री प्रयोगविहीन, सामान्य जाँचका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा रहेका करोडौं मूल्यबराबरका ल्याबका सामग्री प्रयोगविहीन रहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतबाट ल्याइएका सामग्रीहरु प्रयोगविहीन भएका हुन् ।

ल्याब सामग्रीको प्रयोग नहुँदा थाइराइडको जाँच, सोडियम, पोटासियमलगायत सामान्य जाँच गर्न स्थानीय जिल्लाबाहिर जान बाध्य छन् । ‘मलाई युरिक एसिडको समस्या थियो जाँच गर्न गएको तर किट अभाव छ जाँच हुँदैन भनेपछि जाँच नभएरै फर्कनुपर्‍यो,’ स्थानीय छवि पन्तले गुनासो सुनाए ।

ल्याब टेक्निसियन विकास गुप्ताका अनुसार ल्याबमा प्रयोग हुने किटहरु दुई साताअघि नै अस्पताल प्रशासनसँग माग गरेको तर समयमै आपूर्ति नहुँदा समस्या भएको जनाए ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख नवराज कँडेलले महँगो सामग्री सञ्चालन गर्ने क्षमता अस्पताल विकास समितिसँग नभएकाले आवश्यक सहयोगका लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयलाई जानकारी दिएको जानकारी दिए । एक वर्षअघि आएका सामग्रीहरु प्रयोगविहीन भएका छन् । करोडभन्दा बढी मूल्यका सामग्री प्रयोगविहीन हुदाँ ल्याब सेवाका लागि स्थानीय जिल्लाबाहिर जान बाध्य भएका छन् ।

यता अस्पताल प्रशासनले भने मंगलबार राति मात्रै आवश्यक सामाग्रीहरु आइसकेकाले अब सेवा नरोकिने बताएको छ ।

यो पनि...

जाजरकोट जिल्ला अस्पतालमा एक महिनादेखि औषधि अभाव


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।