जाजरकोट जिल्ला अस्पतालमा एक महिनादेखि औषधि अभाव

फाल्गुन १४, २०७९ |सरोज वली
जाजरकोट जिल्ला अस्पतालमा एक महिनादेखि औषधि अभाव

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा एक महिनादेखि औषधिको अभाव हुँदा बिरामी समस्यामा परेका छन् ।

दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधि नहुँदा बाहिरका पसलमा गएर औषधि खरिद गर्न बाध्य हुनुपरेको बिरामीले गुनासो गरेका छन् ।

स्वास्थ्य बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेप्ने गरेका छन् । मेडिकलमा गएर महँगोमा औषधि किन्नु परेको बताउँदै भेरी नगरपालिका ४ कि सरस्वती विकले भनिन्, ‘‘उपचारमा केही सहज होला भनेर बिमा गरियो तर अस्पतालमा औषधि पाइएन ।’’

अस्पतालले टेन्डर प्रक्रिया पूरा गरी वर्ष भरिलाई नै पुग्ने औषधि खरिद गर्नु पर्ने हो तर हालसम्म सो प्रक्रिया पूरा गरेको देखिँदैन । त्यस कारण पनि पटक पटक अस्पतालमा औषधिको अभाव हुने गरेको फार्मेसी विभागले जनाएको छ ।

नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारका औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइनु पर्नेमा हाल जिल्ला अस्पतालमा २०–३० प्रकारका औषधि मात्र छन् । किनेर लिने औषधि भन्दा पनि निःशुल्कै पाउनुपर्ने औषधिसमेत नपाइएको भेरी नगरपालिका ४ कि करुणा बोहराले बताइन् ।

अस्पताल प्रशासनलाई महिना दिन अघि नै औषधि सकिएको जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको फार्मेसी विभागको भनाइ छ ।

सामान्यदेखि जटिल रोगका लागि चाहिने ५० प्रकारका औषधि हाल जिल्ला अस्पताल जाजरकोटमा छैनन् ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।