टिकटकमा सन् २०२५ मा नेपालबाट के सर्च गरियाे त ?

पुस १६, २०८२ |किरण पौडेल
टिकटकमा सन् २०२५ मा नेपालबाट के सर्च गरियाे त ?

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमा सन् २०२५ मा नेपालबाट के खोजी गरियो होला अनुमान गर्न सक्नुहुन्छ ? 

मनोरञ्जनात्मक जानकारीमूलक या अरू केही ? को व्यक्ति अथवा स्थान बढी खोजी सूचीमा रहे होलान् ? यस वर्ष टप सर्चहरूले नेपालीहरूलाई संस्कृति, समुदाय र हरेक दिनका जिज्ञासासँग जोडिरहेको स्पष्ट भएको टिकटकले जनाएको छ । टिकटकका अनुसार सन् २०२५ मा शोबिज सेलेब्रिटीमध्ये प्रियंका कार्की, राजेश हमाल, स्वस्तिमा खड्का, रेखा थापा र मदनकृष्ण श्रेष्ठबारे टिकटकमा धेरै खोजी गरिएको थियो । 

सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटरमा सिम्पल खरेल, आश्मा विश्वकर्मा, रचना रिमाल, अनमोल केसी र आना शर्मा रहेका छन् । सबैभन्दा धेरै खोजिएका खेलाडीमा साम्बा, विमल घर्ती मगर, दीपेन्द्र सिंह ऐरी, एम्बाप्पे र मेस्सी छन् । सबैभन्दा धेरै खोजिएका स्थानमा मुस्ताङ, मनाङ, नर्थ अन्नपूर्ण बेस क्याम्प, पशुपतिनाथ मन्दिर र भीमसेनस्थान मन्दिर छन् । 

सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामामा बिग बस, परान (चलचित्र), जेरी अन टप (चलचित्र), जारी २ (चलचित्र) र रोडिज सिजन ७ परेका छन् । सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणमा तीज, कुकुर तिहार, मिस ग्राण्ड नेपाल, रुटिन अफ नेपाल बन्द र एनपीएल सिजन टु परेका छन् । 

खाना/रेसिपीमा स्टिम चिकेन रेसिपी, सेलरोटी रेसिपी, सिंगडा रेसिपी र पक्कु रेसिपी रहेका छन् । टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज माध्यमका रूपमा बढ्दै गएको कम्पनीको दाबी छ । यसमा दशैं–तिहार र तीजका लागि आवश्यक सामग्रीदेखि खाना पकाउने रेसिपीसम्म खोजिएको पाइन्छ ।

टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको बताउनुभएको छ । मानिसहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भ खोजिरहेको पाइएको उहाँको भनाइ छ । 

यस्तै खेलकुदका पछिल्ला गतिविधि पछ्याउन, विकेन्ड ट्रिपको योजना बनाउन, नयाँ कुरा सिक्न वा किनमेलअघि रिभ्यु हेर्नसमेत टिकटकलाई आधार बनाउने गरिएको नवीदले बताउनुभएको छ । नेपालमा टिकटक ‘सर्च’ अब केबल भिडियो हेर्ने माध्यममा सीमित नरहेको उहाँको भनाइ छ ।

२०२५ को अन्त्यसँगै, नेपालका टप टिकटक सर्चहरूले यो वर्ष सामूहिक उत्सव, दैनिक जीवनका चासो र क्रिएटर-केन्द्रित खोजहरूले भरिएको रहेको देखाउने विज्ञप्तिमा उल्लेख छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।