
काठमाडौं । अस्कर २०२६ मा 'वान ब्याटल आफ्टर अनादर' ले उत्कृष्ट फिल्मसहित ६ वटा अवार्ड जित्दै वर्षको सबैभन्दा सफल फिल्म बनेको छ।
अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा वार्नर ब्रदर्स स्टुडियोको यो फिल्मले सबैभन्दा ठूलो सम्मान हात पारेको हो । 'वान ब्याटल आफ्टर अनादर' ले बेस्ट कास्टिङ, एड्याप्टेड स्क्रिनप्ले, फिल्म इडिटिङ, डिरेक्टर र सपोर्टिङ एक्टरको अवार्डसमेत हात पारेको छ।
फिल्मले आप्रवासन, जातीय सम्बन्ध र समाजमा भइरहेको शक्ति-संघर्ष जस्ता विषयवस्तु उठान गर्दै एक पूर्वक्रान्तिकारी बुबाको संघर्षलाई प्रस्तुत गरेको छ। त्यस्तै 'सिनर्स'ले ४, 'फ्रान्केन्स्टाइन'ले २ र 'के-पप डिमन हन्टर्स'ले २ वटा अवार्ड हात पारेका छन् ।
वान ब्याटल आफ्टर अनादरले सर्वश्रेष्ठ फिल्मसँगै उत्कृष्ट निर्देशक विधामा पनि सफलता हासिल गरेको छ । निर्देशक पल थोमस एन्डरसनले यस फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जित्नु भएको हो । ‘वन ब्याटल आफ्टर एनदर’को कथा राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत संघर्षको पृष्ठभूमिमा अघि बढ्छ ।
कथाले सत्ता, आन्दोलन र व्यक्तिको नैतिक निर्णयबीचको टकरावलाई चित्रण गर्छ । बहुस्तरीय कथा, शक्तिशाली अभिनय र निर्देशकको सशक्त प्रस्तुतिका कारण फिल्मले अन्तर्राष्ट्रिय स्तरमा व्यापक चर्चा बटुलेको थियो । प्रदर्शनपछि यो फिल्म समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउन सफल भएको थियो । यसको कथा संरचना, दृश्य संयोजन र कलाकारहरूको अभिनयलाई विशेष रूपमा प्रशंसा गरिएको थियो ।