
उदयपुर । उदयपुर डान्स च्याम्पियन सिजन-२ को उपाधि भोजपुर जिल्लाकी लाजिमा राईले जितेकी छिन् ।
शनिबार राति सम्पन्न फाईनल राउन्डबाट लाजिमाले १६ फाइनलिस्टहरूलाई पछि पार्दै उपाधि जितेकी हुन् । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारबजारमा भएको ग्रान्ड फिनालेमा जितसँगै उनले ४० हजार नगद पुरस्कारसहित अवार्ड र प्रमाणपत्र पाएकी छिन् ।
नृत्य क्षेत्रकी एक लगनशील प्रतिभा हुन उनी । जितले उनी नृत्यमा थप उत्साहित बनेको प्रतिक्रिया दिएकी छिन् । प्रतियोगितामा उदयपुर (कटारी)की माया मगर फस्ट रनरअप, हडियाकी कुन्जन सुनाम सेकेन्ड रनरअप र कटारीकै प्रमिसा कार्की थर्डर नरअप भए ।
बेस्ट एक्सप्रेसन अवार्ड बेल्टारकी सेडृना राईले जितिन, बेस्ट डिसिप्लिन अवार्ड भोजपुरका दिवाहाङ राईले जिते भने बेस्ट परफर्मर अवार्ड कटारीकी स्वयता आले मगर र रेस्मी मगरले जितेका छन् । फस्ट रनरअपले नगद २० हजार, सेकेन्ड रनरअपले नगद १० हजार र थर्ड रनरअपले नगद ५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उदयपुर डान्स स्टुडियो बेल्टारको आयोजनामा गत माघ १३ गते कटारी बजारमा अडिसन राउन्ड सुरूवात गरी विभिन्न राउन्ड पूरा गरी फाइनल राउन्ड भएको हो । उदयपुरको मुुब्य व्यापारिक केन्द्रहरू उदयपुरगढी गाउँपालिकाको नेपालटार, रौतामाई गाउँपालिकाको मुर्कुची, चौदण्डीगढी नगरपालिकाको बेल्टार, त्रियुगा नगरपालिकाको गाईघाट र बेलका नगरपालिकाको रामपुरमा अडिसन राउन्ड गरिएको थियो ।
अडिसनबाट छनाेट भएका ६५ जना प्रतिस्पर्धीबाट विभिन्न चरण पार गर्दै फाइनलिस्टमा १६ जना रहेका थिए । आयोजक उदयपुर डान्स स्टुडियोका सञ्चालक तथा नृत्य निर्देशक संघ उदयपुरका अध्यक्ष प्रेमजङ्ग किरातीका अनुसार सानदार र सौहाद्रपूर्णढंगले उदयपुर डान्स च्याम्पियनको दोस्रो सिजन सम्पन्न भयो । यसपटक पूर्णरुपले प्रतियोगिको कला र प्रतिभाको आधारमा विजेता चयन भएको उहाँले बताउनुभयाे । प्रतियोगिताले उदयपुरमा नृत्य संस्कृतिको विकास र नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।