चैत ६ र ७ मा भक्तपुर फिल्म फेस्टिभल हुँदै

फाल्गुन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
चैत ६ र ७ मा भक्तपुर फिल्म फेस्टिभल हुँदै

काठमाडौँ । आगामी चैत ६ र ७ गते भक्तपुर फिल्म फेस्टिभल हुने भएको छ । भक्तपुरका युवा फिल्मकर्मीहरू किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले पहिलो पटक यो फेस्टिभल आयोजना गर्ने भएको हो ।

महोत्सव निर्देशक किलम्बूका अनुसार भक्तपुरको कला र साहित्य विकास गर्न र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिन फेस्टिभल आयोजना गरिएको हो ।

महोत्सव संयोजक स्मित गिरीका अनुसार स्वतन्त्र (इन्डी) फिल्मकर्मीका फिल्मलाई प्लेटफर्म दिन आवश्यक देखेर महोत्सव आयोजना गरिएको हो । दुईदिने यो महोत्सवमा २४ फिल्म देखाइनेछ । 

नवीन सुब्बा निर्देशित गाउँ आएको बाटो देखाउँदै महोत्सव सुरु हुनेछ भने सुजित बिडारी निर्देशित ऐना झ्यालको पुतलीदेखि अंकित पौडेलको सङ अफ क्लाउड्स, किरण श्रेष्ठको एट एनोदर विन्टर, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ढोरपाटनलगायतका फिल्महरू देखाइनेछन् । सन्देश भुर्तेलको डकुमेन्ट्री मदर रेबिका महोत्सवको समापन फिल्म हुनेछ । महोत्सवमा नेवा संस्कृति समेटिएका दुई फिल्म किजा पूजानेवा बुद्धिजम इन नेपाल देखाइनेछ ।

महोत्सव सुरु हुने अघिल्लो दिन कथा लेखनसम्बन्धी फिल्मकर्मी केशव पाण्डेको कार्यशाला हुनेछ । यही फागुन ३० मा महोत्सवले रुशेल शिल्पकारसँगको सहकार्यमा भक्तपुरमा ‘हेरिटेज वाक’ पनि आयोजना गर्दै छ । महोत्सव भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा आयोजना हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.