संगीतको एक युगको अन्त्य: आशा भोस्लेकाे अब सम्झनामा मात्रै

चैत्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
संगीतको एक युगको अन्त्य: आशा भोस्लेकाे अब सम्झनामा मात्रै

काठमाडौं । दक्षिण एसियाकै प्रसिद्ध गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ। 

भारतको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएको हो। केही समयदेखि अस्वस्थ रहनुभएकी भोस्लेलाई मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या बढेपछि शनिबार आइसीयूमा भर्ना गरिएको थियो।

माघ २३, २०७८ मा दिदी लता मंगेश्करको निधन भएपछि आशाले भनेकी थिइन्-म मात्रै अन्तिम मुगल बाँकी छु । फेरि अर्को पटक एक पत्रकार सम्मेलनमा उनले भनेकी थिइन्- फिल्म उद्योगको इतिहास ममात्र जान्दछु । निर्देशक, निर्माता, गायकगायिका सबैको कथा मैले भन्ने थालें भने ३, ४ दिन लाग्छ । म यो फिल्म लाइनको आखिरी मुगल हुँ ।

यो सत्य पनि थियो, उनी साँच्चै भारतीय संगीतको इतिहास वाचक नै थिइन्। साथै ८ दशकभन्दा बढि समयदेखि निरन्तर संगीत साधक पनि। अर्थात् संगीतको एक युग । आइतबार त्यही युगको अन्त्य भएको छ । संयोग यस्तो भयो कि मुम्बईको ब्रिच क्यान्डी अस्पताल जहाँ दिदी लताको निधन भयो, त्यही नै आशाले पनि अन्तिम श्वास लिइन् ।

आशाको जन्म सन् १९३३ मा भारतको महाराष्ट्रमा भएको थियो। उनका पिता दिनानाथ मंगेशकर चर्चित शास्त्रीय गायक थिए । पिताको निधनपछि परिवार आर्थिक कठिनाइमा पर्‍यो। त्यसपछि उनी र दिदी लताले सानै उमेरदेखि संगीतमार्फत परिवारको गुजारा चलाउन थालेका थिए । 

उनको चलचित्र पार्श्व गायन भने १९४३ मा मराठी फिल्म 'माझा बाल' बाट सुरू भयो जतिबेला उनको उमेर १० वर्षको मात्र थियो । हिन्दी फिल्ममा डेब्यू भने १९४८ को चुनरिया बाट भयो । तर, १६ वर्षको उमेरमा रातकी रानी फिल्ममा गाउने अवसर पाएपछि उनी रातारात स्टार बनिन् । 

त्यसयताका ८३ वर्ष उनले आफ्नो जादुमयी आवाजले संगीत क्षेत्रलाई लठ्ठ पारिरहिन् । करिअरमा उनले भारतकै २० भन्दा भाषा र विदेशी भाषामा १२ हजार गीत रेकर्ड गराइन् । सन् २०११ मा सबैभन्दा बढी स्टुडियो रेकर्डिङका लागि उनको नाम गिनिज बुकमा समेत रेकर्ड भयो ।

हिन्दी फिल्म संगीतमा उनका हजारौँ गीत चर्चित छन् । जसमध्ये “ए मेरा दिल”, “पिया तु अब तो आजा”, “दम मारो दम”, “ए दिल मेरा”, लगायतका गीत अत्यन्त चर्चित छन्। यी गीतहरूले उनलाई पुस्तौँसम्म सम्झिरहने बनाएका छन्।

नेपाली स्रोताका लागि समेत आशा भोस्लेको आवाज परिचित मात्र होइन, वर्षौंदेखि प्रिय रहँदै आएको छ। उनले नेपाली भाषामा गाएका 'गैरीखेतको शिरै हान्यो', 'मोहनी लाग्ला है', “माया त माया हो”, “पहाडको माथि माथि”, “किन बढ्दैछ ढुकढुकी मुटुको”, “तिम्रो मनमा लुकेको कुरा” जस्ता थुप्रै नेपाली गीत आज पनि नेपाली संगीतको हिस्सा बनेका छन्।

उनको स्वरले भारतमात्र होइन, नेपालसहित समग्र दक्षिण एसियाली संगीतलाई गहिरो प्रभाव पारेको छ, र आज पनि उनका गीत उत्तिकै लोकप्रिय छन्। हरेक किसिमका गीत गाउन अब्बल आशाको आवाजले हरेक प्रकारका गीतलाई जीवन दिएका छन्। प्रेम र वियोगका गीतहरु हुन् वा भजन, शास्त्रीय हुन् वा पश्चिमको प्रभावका रहेका आधुनिक हुन्, सबै प्रकारका गीतका लागि फिट आवाज थियो आशाको। 

यसकारण पनि भारतीय संगीतमा आशालाई बहुमुखी गायिकाका रुपमा सम्मान गरिन्छ। तर, उनी कतिपय समय विवादमा समेत परिन् । सन् १९७१ मा बनेको र नेपालमा समेत छायांकन भएको हरे रामा हरेकृष्ण फिल्मको दम मारो दम विवादमा पर्दा अल इन्डिया रेडियोले प्रतिबन्धसमेत लगायो । ८ दशकभन्दा लामो सांगितिक जीवनमा यस्ता विवाद र उतारचढाव सामान्य हुन्।

व्यवहारमा नम्र र शान्त स्वभावकी आशाका लागि संगीत नै जीवन थियो। आफ्ना निजी विषयहरूमा कमै सार्वजनिक चर्चा गर्ने आशालाई सधैं संगीतकै पूजा स्रोता र दर्शकले देखेका छन्। भारतका प्रतिष्ठित फिल्मफेयर, राष्ट्रिय चलचित्र पुरस्कार, पद्म विभूषणलगायतका थुप्रै अवार्ड र पुरस्कारबाट सम्मानित भएकी आशाले संसारबाट विदा त लिएकी छिन् तर उनको स्वरले सजिएका हजारौं गीत सयौं वर्षसम्म मानिसहरूले गुनगुनाइ रहनेछन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.