काठमाडौं । काठमाडौंको व्यस्त सडकमा दिनहुँ हजारौं मानिस हतारमा आफ्नो गन्तव्यतर्फ लम्किरहेका हुन्छन्।
कसैलाई समयको चिन्ता छ, कसैलाई कामको। तर, यही हतारोबीच एउटा यस्तो क्षण आउँछ, जहाँ मानिसका पाइला अचानक रोकिन्छन्। कसैले मोबाइल निकालेर दृश्य कैद गर्न थाल्छन्, कसैले ताली बजाउँछन्, अनि कोही खल्तीबाट पैसा निकाल्न थाल्छन् । तर, यो न कुनै मेला हो, न कुनै सरकारी कार्यक्रम, अनि कुनै चर्चित कलाकारको प्रस्तुती पनि होइन यो।
केही मिनेटमै सडकको एउटा कुनामा भीड लागिसकेको हुन्छ । आखिर यो के हो, जसले अपरिचित मानिसहरूलाई टक्क अडिन बाध्य बनाइरहेको छ ?
यसको उत्तर खोज्दै हामी पुग्छौं सुन्धाराको एउटा सामान्य होटेलमा। जहाँबाट सुरु हुन्छ दुई युवाको असाधारण संघर्ष, सपना र कलाको कथा। कथा सुरु हुन्छ सुन्धाराको एउटा होटेलबाट। कोठा सामान्य छ तर यो कोठाभित्र हरेक दिन एउटा यस्तो तयारी भइरहेको हुन्छ, जसले केही घण्टापछि काठमाडौंको व्यस्त सडकमा सयौं मानिसको ध्यान तान्ने छ।
कोठाभित्र छन् दुई युवा, झापाका सिद्धार्थ क्षेत्री र भारतको सिलिगुडीका जिब्रियल आलम। हामी पुग्दा उनीहरू कुनै छलफलमा व्यस्त थिए। उनीहरूको कुराकानी सुन्दा लाग्थ्यो, मानौं कुनै विशेष योजनाको तयारी भइरहेको छ। तर, उनीहरूको गन्तव्य कहाँ हो ? र, के गर्न लागेका हुन् ? त्यो भने अझै खुलिसकेको थिएन।
यो उनीहरूको दैनिक प्रक्रिया हो। केहीबेर योजना, केहीबेर छलफल अनि सुरु हुन्छ अभ्यास। संगीतको तालमा शरीर चल्न थाल्छ। पाइला दोहोरिन्छन्। हाउभाउ मिलाइन्छ। मानौं कुनै ठूलो प्रस्तुतीको अन्तिम तयारी भइरहेको हो।
केही समयपछि उनीहरू तयार हुन्छन्। चार्जमा राखिएको स्पिकर उठाइन्छ। आवश्यक सामान जम्मा गरिन्छन् र कोठाको ढोका बन्द हुन्छ। उनीहरू निस्कन्छन्। हामी पनि उनीहरूलाई पछ्याउँदै काठमाडौंको व्यस्त बजार रत्नपार्क पुग्छौं।
एउटा कुनामा पुगेर उनीहरू रोकिन्छन्। स्पिकर भुइँमा राख्छन्। झोलाबाट केही सामान निकाल्छन्। मानिसहरु आफ्नै धूनमा हुन्छन् । तर, अचानक एउटा कुनामा संगीत बज्न थाल्छ।
संगीतको धूनसँगै चल्मलाउँछ सिद्धार्थको शरीर । केहीबेरअघि हतारमा आफ्नो बाटो लागिरहेका मानिसहरू विस्तारै रोकिन थाल्छन्। एक जना रोकिन्छन्। त्यसपछि अर्को। अनि अर्को । केही मिनेटमै सडकको त्यो कुनामा सानोतिनो भीड नै जम्मा हुन्छ।
सिद्धार्थपछि जिब्रियल पनि मैदानमा उत्रिन्छन्। दुवै जना पालैपालो नाच्न थाल्छन्। उनीहरूको ऊर्जा, लय र आत्मविश्वासले भीडलाई झन् आकर्षित गर्छ। कोही मोबाइल निकालेर भिडियो खिच्न थाल्छन, कोही अचम्म मान्दै हेर्छन् भने कोही रमाउँदै ताली बजाउँछन्।
आफ्नै आँखाअघि नौलो प्रस्तुती देख्दा धेरैलाई नौलो अनुभव हुन्छ। व्यस्त सडकको भीड केहीबेरका लागि जिज्ञासु दर्शकदीर्घामा बदलिन्छ र त्यो सानो कुनो उनीहरूको मञ्चमा । नृत्य चलिरहन्छ। संगीत बजिरहन्छ। अब दर्शकहरू तालीमै सीमित छैनन् ।
कसैले टोपीमा १० रुपैयाँ हाल्छन्, कसैले ५०, कसैले १००। कसैले शब्दले प्रशंसा गर्छन्, कसैले ताली बजाएर । हेर्दा सामान्य देखिने यो दृश्य वास्तवमा उनीहरूको जीवनसँग जोडिएको छ। किनकि यही टोपीमा जम्मा हुने सहयोगले चलिरहेको छ सिद्धार्थ र जिब्रियलको दैनिकी।
दैनिकजसो एकदेखि दुई घण्टासम्म सडकमा नाच्दा उनीहरूले पाँचदेखि सात हजार रुपैयाँसम्म आम्दानी गर्छन्। तर, हरेक दिन आम्दानी एकनास हुँदैन। तर, सिद्धार्थका लागि यो केवल पैसा कमाउने माध्यममात्र होइन।
यही नृत्यबाट आएको आम्दानीले सिद्धार्थले आफ्ना तीन भाइको पढाइमा सहयोग गरिरहेका छन्। घरपरिवारलाई आर्थिक साथ दिइरहेका छन्। कहिलेकाहीँ आवश्यक परेकाहरूलाई सकेको सहयोग पनि गर्दै आएका छन्। सिद्धार्थका अनुसार उनीहरूले गर्ने नृत्य फ्रिस्टाइल हो।
कुनै तय गरिएको कोरियोग्राफीभन्दा पनि संगीतसँगै मनले जे महसुस गर्छ, शरीर त्यसैअनुसार चल्न थाल्छ। सिद्धार्थकाअनुसार सडकमा उत्रिएर संगीत सुन्नासाथ नृत्यका स्टेप आफैं आउने गर्छन्। र, त्यही क्षणले सबैभन्दा धेरै आत्मसन्तुष्टि दिन्छ।
सिद्धार्थ क्षेत्री र जिब्रियल आलमको भेट करिब डेढ वर्षअघि भएको थियो। नेपालको झापा र भारतको सिलिगुडीबाट आएका यी दुई युवालाई नृत्यले जोड्यो । त्यसयता उनीहरू सँगै सडकमा उत्रिरहेका छन्। सँगै सपना देखिरहेका छन् र सँगै संघर्ष पनि ।
जिब्रियल सम्झिन्छन्, सुरुका दिन सहज थिएनन्। सडकमा नाच्दा कतिपयले राम्रो नजरले हेरेनन्। कतिपयले मजाकसमेत उडाए । तर, उनीहरूले हार मानेनन्। विस्तारै मानिसहरूले उनीहरूको कला रुचाउन थाले। आज उनीहरूको प्रस्तुति हेर्न मानिसहरू आफैं रोकिन्छन्।
तर, सडकलाई मञ्च बनाउने यात्रा सहज भने छैन। कतिपय स्थानमा स्थानीय निकायको अवरोध खेप्नुपर्छ। कहिलेकाहीँ प्रस्तुती रोक्नुपर्ने अवस्था आउँछ। पर्याप्त सुविधा छैन। निश्चित आम्दानी छैन। तर, यी चुनौतीहरूभन्दा ठूलो छ उनीहरूको सपना।
पछिल्लो समय सिद्धार्थ क्षेत्री र स्ट्रिट डान्सर थर्टिन नामक टिकटक पेजमार्फत उनीहरूले आफ्ना प्रस्तुति सामाजिक सञ्जालमा पनि राख्दै आएका छन्। जसका कारण धेरै मानिसहरूले उनीहरूलाई चिन्न थालेका छन् । उनीहरूको कला अझ फराकिलो दर्शकमाझ पुगेको छ।
थाहा छैन उनीहरुको सपनाको उडान कति परसम्म जानेछ ।