नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा, सहकोषाध्यक्ष निर्विरोध

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा, सहकोषाध्यक्ष निर्विरोध

काठमाडौं । नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा भएको छ । सह-कोषाध्यक्षमा निरौला प्यानलकी पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् । महासचिवमा सविन श्रेष्ठ तथा सचिवमा रामेश्वर बुर्लाकोटी छन् । त्यस्तै कोषाध्यक्षमा सुनील कटुवाल छन् ।

यस्तै सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनीलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् ।

अध्यक्ष पदका उम्मेदवार निरौलाले कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई आफ्नो एजेन्डा बनाएका छन् । निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्तासमेत हुन् । कार्यक्रममा उम्मेदवार निरौलाले लैंगिक तथा यौन हिंसाविरुद्ध शून्यसहनशीलताको नीति लिने, मातृभाषी चलचित्रका कलाकारलाई संघमा आबद्ध गराउने नीति लिने प्रतिबद्धता जनाए । उनले विभिन्न देशमा रहेका मौजुदा शाखाको विस्तार गरी विश्वभर छरिएका कलाकारहरुलाई एक सूत्रमा बाँध्ने आफ्ना एजेन्डा रहेको जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले महिला र पुरुष भनेर टुट्नु नहुने धारणा राखिन् । उनले अध्यक्ष पदमा उठ्ने अर्को पक्षलाई उम्मेदवारी फिर्ता लिएर निरौलालाई सघाउन आग्रह पनि गरिन् । नयाँ मात्रै आएर नेतृत्व सम्हाल्न नसकिने भुसालको धारणा छ ।

त्यस्तै वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले कलाकार संघ भनेको लिने नभइ दिने ठाउँ रहेको जनाइन् । सबै मिलेर कलाकार संघको अध्यक्षमा उम्मेदवार निरौलालाई जिताउन आवश्यक रहेको धारणा राखिन् । कलाकार संघको अध्यक्षमा बुधबार रेजिना उप्रेतीले पनि प्यानल घोषणा गरेकी छन् । कलाकार संघको नेतृत्वका लागि शनिबार चुनाव हुँदै छ ।

चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.