चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा

चैत्र १, २०७९ |कान्तिपुर टीभी संवाददाता
चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा

काठमाडौं । नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी घोषणा गरेकी छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी उनले नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी छ । महासचिवमा पनाह अधिकारीको उम्मेदवारी छ । त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई पनि उप्रेतीकै प्यानलबाट उम्मेदवार छन् ।

त्यस्तै सदस्य पदमा उनको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङ्ताङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नीतु कोइराला, भीमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष पदकी उम्मेदवार उप्रेतीले कार्यान्वयन व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेबसाइट व्यवस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, संघमा सदस्यहरुको अभिलेख तथा वृत्तिविकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना रहेको जनाइन् । त्यस्तै अन्य योजनामा कल्याणकारी कोष वृद्धि योजना, अन्तर्क्रिया तथा गोष्ठी योजना, संघको शाखा विस्तार र कलाकारको सामाजिक सुरक्षा रहेको उनले जनाइन् । उनले आफू निर्वाचित भएपछि संघका कलाकार सदस्यहरुको निर्देशनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कलाकार संघमा सुझाव पेटिका राखेर कलाकारहरुको सुझाव लिने काम गर्ने अध्यक्ष पदकी प्रत्यासी उप्रेतीले प्रतिबद्धता जनाइन् ।

त्यस्तै अभिनेत्री उप्रेतीलाई समर्थन गर्न पुगेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कलाकारहरु अनुशासित नभएको आरोप लगाए । उनले कलाकारहरु कुरा नसुन्ने, नटेर्ने गरेको भन्दै कलाकारहरुको गोष्ठीमा आउँदा कलाकारहरु नै गफ गर्ने गरेको र कुनै राजनीतिक दलको कार्यक्रममा गएको जस्तो व्यवहार देखाएको भन्दै असन्तोष व्यक्त गरे । उनले चलचित्र क्षेत्रको विकास गर्न रेजिना उप्रेतीलाई जिताउन पनि आग्रह गरे । उनले कलाकार संघमा आफूले आफूलाई नै कलाकार क्षेत्रमा उत्कृष्ट योगदान दिएको भनेर ठूलो ताम्रपत्र बनाएर राष्ट्रप्रमुखबाट सम्मान ग्रहण पनि गरेको आरोप लगाए ।

त्यस्तै कलाकार राजेन्द्र खड्गीले यसपटक रेजिना उप्रेतीलाई कलाकार संघको अध्यक्षका लागि छोडिदिन आग्रह गरे । उनले अध्यक्ष पदमा उप्रेतीलाई सहयोग गर्ने जनाए ।

त्यस्तै कलाकार सोभित बस्नेतले कलाकार संघमा अहिलेसम्म चर्चा नपाएका व्यक्तिहरु आएको र आफ्नो चर्चा बढाउन प्राथमिकता दिएको आरोप लगाए । उनले रेजिना उप्रेती चर्चा कमाइसकेको व्यक्तित्व भएकाले उहाँको प्राथमिकतामा कलाकारको हक-हितका विषयहरुले प्राथमिकता पाउने पनि जनाए । उनले नेतृत्वमा गएका सबैजना आफूलाई चिनाउनमै व्यस्त भएको धारणा राखे । अध्यक्ष पदमा उप्रेतीलाई सहयोग गर्न सबै कलाकारहरुसँग बस्नेतले आग्रह पनि गरे ।

त्यस्तै कलाकार पल्पसा डंगोलले युवा कलाकारहरुले अब कलाकार संघको नेतृत्व गर्नुपर्छ भनेर उप्रेतीलाई समर्थन गर्न आएको जनाइन् ।

त्यस्तै अभिनेता रमेश उप्रेतीले चुनाव सकिएपछि नेतृत्वमा पुगेकाहरुले कलाकारहरुको लागि कुनै काम नगरेको आरोप लगाए । कलाकारहरु नेतृत्वमा पुगेपछि गर्छु भनेका कामहरु पनि अहिलेसम्म हुन नसकेकोप्रति आफूलाई दुःख लागेको उनले जनाए । उनले नेतृत्वमा पुगेपछि कलाकारको एजेन्डा नै बिर्सिने गरेको आरोप लगाए । अब निर्वाचित हुने नेतृत्वले कलाकारका हक-हित नीति-निर्माणमा हुने विश्वास रहेको उनको भनाइ छ ।

नेपाल चलचित्र कलाकार संघको १९औं साधारणसभा तथा महाधिवेशन चैत ४ गते हुँदै छ ।