र्‍यापमा फर्कँदै मेयर बालेन्द्र

कार्तिक २७, २०७९ |संगम ढकाल
र्‍यापमा फर्कँदै मेयर बालेन्द्र

काठमाडौं । बालेन्द्र शाह उर्फ बालेन ‘नेपहप’ नेपाली हिपहपको परिचत नाम हो । ३२ वर्षीय मेयर बालेन्द्र काठमाडौंको नरदेवीमा जन्मे-हुर्केका हुन् । उनी ब्याटल र्‍यापर हुन् । २०६९ पुसमा उनले पहिलो गीत ‘सडक बालक’ दर्शकसामु ल्याएका थिए । सानैदेखि कवितामा रुचि राख्ने उनले यो गीत कक्षा ९ मा पढ्दा लेखेका हुन् ।

बालेन्द्रले २०७० मंसिरमा ‘लिटल ग्रिजल’ नामक र्‍यापरसँग ब्याटल गरेका थिए । प्रतिस्पर्धीका लागि बालेन्द्र निकै भारी बने तर सोही कारण उनी दर्शकसामु परिचित बने ।

 ‘र्‍यापर भनेको बालेनजस्तो भव्य हुनुपर्छ लिटल त ग्रिजल पनि हुन्छ’ उनले ब्याटलमा प्रयोग गरेको यो अंश युवापुस्ताको मुख-मुखमा झुन्डिएको थियो ।

बालेन्द्र पूर्वाधार इन्जिनियर पनि हुन् । अध्ययन र कार्यव्यस्ताका कारण उनी संगीतबाट केही समय टाढा बने । उनले २०७३-२०७६ मा दर्शकलाई नयाँ गीत दिएनन् ।

‘मार्फाको मदिरा’ गीत लिएर बालेन्द्र २०७६ जेठमा ‘कमब्याक’ भए ।

‘बलिदान’ बालेन्द्रको सबैभन्दा हिट गीत हो । याे गीत अहिलेसम्म ६२ लाखभन्दा बढीले हेरेका छन् । उनले यस गीतमा विद्यमान राजनीति बेथितिलाई व्यङ्ग्य गरेका छन् ।

‘नारीमा कुमारी जोगाउने बलात्कारीखाडीमा चिनारी लुटाउने सधैँ हामी’

यो बलिदान गीतको एक अंश हो । यस्तै पेचिला शब्द चयनले गीतलाई सान्दर्भिक बनाएको छ ।

बालेन्द्रले ‘ब्याटल र्‍यापर’ भएर स्टेजमा, इन्जिनियर भएर नेपालका ६५ जिल्लामा र जनप्रतिनिधि बनेर काठमाडौं महानगरपालिकाको मेयरको कुर्सीसम्म यात्रा गरिसकेका छन् । समाजले र्‍यापलाई संगीतको रूपमा ग्रहण नगरिरहेको अवस्थामा बालेन्द्र शाह उदाहरण बनेका छन् ।

‘नयाँ गीत छिटै आउँछ’

र्‍यापर भएका कारण चुनावी प्रचार गर्न र आफ्ना एजेन्डा जनतामा पुर्‍याउन सहज भयो । तर, मेयर बनेपछि उनी अहिले र्‍यापसँग टाढिएका छन् ।

अन्तिम पटक उनी चुनावी प्रचार अभियानका क्रममा होलीका दिन भृकुटीमण्डपको स्टेजमा देखिएका थिए । त्यसयता उनी सांगीतिक प्रस्तुतिका लागि स्टेजमा देखिएका छैनन् ।

बालेन्द्रमाथि मेयर बनेपछि र्‍याप छोडेको आरोप लाग्ने गरेको छ ।

कार्यव्यस्तताका कारण सांगीतिक प्रस्तुतिका लागि मेयर बालेन्द्रले समय दिन नसककेको उनका स्वकीय सचिव भूपदेव शाह बताउँछन् । उनले कान्तिपुर टीभीसँग भने, ‘मेयरज्यूले र्‍याप छोड्नुभएको होइन । नभ्याउनुभएको हो ।’

बालेन्द्र नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको स्वकीय सचिव शाहले बताए ।

‘मेयरज्यू नयाँ गीतको तयारीमा हुनुहुन्छ । अब केही दिनमा गीत सार्वजनिक हुन्छ,’ उनी भन्छन्, ‘उहाँ एकदम व्यस्त भएर हो । उहाँका थुप्रै गीतका प्रोजेक्ट पाइप लाइमा छन् ।’

गीत सार्वजनिक भए पनि समय व्यवस्थापन गर्न नसकिएकाले कन्सर्टमा भने नजाने शाह बताउँछन् ।

के होला लाहुरे भर्सेस बालेन ?

‘रअ बार्ज’बाट सर्वाधिक चर्चामा आएका दुई र्‍यापर आशिष राना ‘लाहुरे’ र बालेन हुन् । त्यसबेला लाहुरेको चर्चा अझ बढी हुने गर्थ्यो । युनिक पोइटसँगको ब्याटलपछि लाहुरे र लिटल ग्रिजलसँगको ब्याटलले बालेन चर्चा आएका हुन् । सोही कारण उनीहरु दुईको ब्याटल सबैको चासोको विषय बनेको हो ।

‘लाहुरे भर्सेस बालेन कहिले ?’ हरेक अन्तर्वार्तामा यी दुईलाई सोधिने प्रश्न हो । उनीहरूको उत्तर हुने गरकाे छ, ‘यसबारे कुरा भइरहेको छ अब छिटै हुन्छ ।’

बालेन काठमाडौं महानरपालिकाको मेयरमा निर्वाचित भएसँगै ‘लाहुरे भर्सेस बालेन’ को सम्भावना हटेको लाहुरे बताउँछन् । लाहुरेले भन्छन्, ‘मितज्यू मेयर बन्नुभयो । ब्याटलमा अश्लील शब्द पनि प्रयोग हुन्छ । उहाँले पदीय मर्यादा पालना गर्नुपर्ने भएकाले अब ब्याटल हुन्छ जस्तो लाग्दैन ।’

अहिले बालेन्द्रका स-साना हर्कत र अभिव्यक्तिले पनि निकै चर्चा पाउँछन् । ब्याटल भएको खण्डमा हुने ठूलो विवादमा पर्न सक्छन् । विवादमा नपर्न उनले शब्द चयनमा अत्यन्तै विचार पुर्‍याउनुपर्छ तर उनीहरूको अभ्यास ‘रअ’ (कच्चा) छ । र्‍याप ब्याटलमा प्रतिस्पर्धीलाई गिराउन अपाच्य शब्द पनि प्रयोग हुन्छ । अश्लील शब्दको प्रयोग त समान्य मानिन्छ । यो कुरा उनीहरूकै पहिलाको ब्याटलबाट पुष्टि हुन्छ ।

यम बुद्धको प्रतिमा बन्ने अनिश्चित

अनिल अधिकारी उर्फ यम बुद्ध त्यसबेला एकदमै चर्चित र लोकप्रिय थिए । उनले नै ‘रअ बार्ज’ होस्ट गरेका थिए । लाहुरे, बालेन, युनिक पोइट, साकारलगायत पछिल्लो पुस्ताका र्‍यापरहरू यसैका उत्पादन हुन् । अर्थात् यही ब्याटलबाट उनीहरूले ‘अन्डरग्राउन्ड’ बाट ‘मेनस्ट्रिम’को यात्रा तय गरे ।

अन्ततः ‘रअ बार्ज’ सुरु भएको तीन वर्षपछि २०७३ माघ १ गते यम बुद्ध यस धर्तीबाट बिदा भए । व्यावसायिक कामले लन्डनमा बस्दै आएका उनी बाथरुममा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी त्यहाँ पत्नीसँगै बस्थे । आफ्नो करिअर उत्कर्षमा रहेका बेला उनी बिदा भए ।

कर्णप्रिय गीतका कारण यमबुद्ध अझै पनि धेरै युवाका प्रेरणा हुन् । उनी अचानक अस्ताउनु सांगीत क्षेत्रका लागि ठूलो घाटा हो । आफ्नो उदय भएको क्षेत्रको एक सहकर्मीको सम्मानमा मेयर बालेन्द्रले ‘यम बुद्ध पार्क’ बनाउने निर्णय गरे । बालेन्द्रका स्वकीय सचिव भूपदेव भन्छन्, ‘यम बुद्धले गरेको योगदानको सम्मानका लागि पार्क निर्माण गर्न लागिएको हो । यो निर्णयलाई युवा पुस्ताले स्वागत गरेका छन् ।’

पार्क बनाउन महानगरले एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । तर, यम बुद्धको सालिक बनाउन १५ लाख रुपैयाँ विनियोजन भएको कुरा विवादित बन्यो । संयोग, त्यसबेला तत्कालीन केपी ओली नेतृत्वको सरकारले अनावश्यक रूपमा ‘भ्यु टावर’ र प्रतिमा बनाएको विषयमा सामाजिक सन्जालमा व्यापक आलोचना भइरहेको थियो । यसैको घानमा मेयर बालेन्द्र पनि परे । उनको चर्को आलोचना भयो ।

सालिक स्थापमा गर्ने विषयमा पर्ख र हेरकै अवस्था रहेको स्वकीय सचिव शाह बताउँछन् । उनले भने, ‘जनप्रतिनिधि भएपछि जनताको चाहनाअनुसार काम गर्नुपर्ने हुन्छ । जनताले यम बुद्धको सालिका राख्न चाहेको खण्डमा मात्र स्थापना गर्ने मेयरज्यूको विचार छ ।’

तर, सामाजिक सन्जालमा यम बुद्धको सालिक बनाउने निर्णयको विरोध भएपछि मेयेर बलेन्द्रले आफ्नै तलवबाट निर्माण गर्ने घोषणा गरेका थिए । ‘मेरो तलवबाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’ मेयर बालेन्द्रले गत असार ९ गते सामाजिक सन्जाल फेसबुकमा लेखेका थिए ।

यम बुद्ध पार्क निर्माण गर्न महानगर जग्गाको खोजिमा रहेको महानगरपलिकाको सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापा बताउँछन् । जग्गा नभेटिएकाले डिजाइनको कामसमेत अगाडि नबढेको निर्देशक थापाको भनाइ छ । ‘जग्गा भेटिएको भए त्यसैको स्वरुपअनुसार डिजाइन हुन्थ्यो,’ निर्देशक थापा भन्छन्, ‘बजेटमा वडा नम्बर १६ मा पार्क बनाउने भनेर राखियो । यो ठाउँमा यही जग्गामा भनेर नलेखिएका कारण समस्या भयो । जग्गा खोजीको काम भइरहेको छ ।’

‘रअ बार्ज’को सुरुवात

रअ बार्जका संस्थापक कोलिन राणा हुन् । कलेजमा रहँदा सन् २०११ मा उनले ‘एक्सक्लुसिभज इन्टरटेनमेन्ट’ नामक कम्पनी खोलेका थिए । यही कम्पनीमार्फत उनीले हिपहप ब्याटल गराउन सुरु गरे । ‘एक्सक्लुसिभज नाइट वान’ नाम दिएर सुरु गरेको ‘हिपहप ब्याटल’ युवापुस्ता माझ निकै चर्चित बन्यो । त्यसबेला यम बुद्ध, दीपक कर्मचार्य, सुदीप मानन्धरलगायत कलाकार सहभागी भएको संस्थापक राणा बताउँछन् ।

पछि यम बुद्धको ‘रअ बार्ज’ नाम राखेर अगाडि बढ्ने सल्लाहअनुसार नै ब्याटल आयोजना भयो । ‘रअ बार्ज’ले गराएका ब्याटल युटुबमार्फत सार्वजनिक भएपछि देशव्यापी चर्चा भयो । काठमाडौंलाई केन्द्रित गरेर गरिएको यो ब्याटल १६ जना सहभागी भएको संस्थापक कोलिन विक्रम राणा बताउँछन् । र्‍यापरलाई व्यावसायिक रूपमा स्टेजमा उतारेर ब्याटल गराएको यो नै पहिलो इभेन्ट हो ।

यही मञ्चबाट उदाएका बालेन काठमाडौं महानगरपालिकाको मेयर ‘बालेन्द्र शाह’ बनेका हुन् ।