
ताप्लेजुङ । सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक सदरमुकाम फुङलिङ आइपुगेको छ ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले मंगलबारदेखि बिक्री वितरण पनि सुरू गर्ने जनाएको छ । यहाँका अधिकांश सामुदायिक विद्यालयका पाठ्यपुस्तक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङले संयुक्तरूपमा बिक्री गर्दै आएको छ । अध्यक्ष केशवप्रसाद भट्टराईका अनुसार १ देखि ५ कक्षाका सबै विषयका एक हजार सेटका दरले पाठ्यपुस्तक सदरमुकामसम्म ल्याइएको छ ।
कक्षा ६-१० का पाठ्यपुस्तक पनि एकादुई दिनभित्रै आइपुग्ने भट्टराइले जानकारी दिनुभयाे । सदरमुकामबाट भने विद्यालय स्वयम्ले ढुवानी गरेर विद्यालयसम्म लैजानुपर्ने छ । भौगोलिक हिसाबले विद्यालयमा पुर्याउन चार-पाँच दिनसम्म लाग्ने भएकाले समयमै पुस्तक ल्याइएको भट्टराईले बताउनुभयाे । हरेकवर्ष यहि बेलादेखि बिक्री गर्ने भट्टराई बताउँछन् ।
कक्षा १ को एक सेटको मूल्य ४२०, कक्षा २ को ५५६, कक्षा ३ को ५८०, कक्षा ४ को ६०२ र कक्षा ५ को ६३३ रूपैयाँ निर्धारण गरिएको छ । यसका अतिरिक्त हरेक सेटमा ८० पैसा रहेको छ । एक दशकअघिदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले सामुदायिक विद्यालयका पाठ्यपुस्तक संयुक्त रूपमा बिक्री गर्दै आएका छन् ।