धनकुटामा एसईई तयारी अन्तिम चरणमा, २ हजार ६ सय ३६ विद्यार्थी सहभागी हुँदै

चैत्र ११, २०८२ |विनोद घिमिरे
धनकुटामा एसईई तयारी अन्तिम चरणमा, २ हजार ६ सय ३६ विद्यार्थी सहभागी हुँदै

धनकुटा । धनकुटामा आउँदो चैत्र १९ गतेबाट सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी अन्तिम चरणमा पुगेको छ। 

यसवर्ष जिल्लाबाट कुल २ हजार ६ सय ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका अनुसार नियमित साधारण धार, साधारण ग्रेड वृद्धि, नियमित प्राविधिक तथा प्राविधिक ग्रेड वृद्धितर्फका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। 

तीमध्ये नियमित साधारण धारतर्फ २ हजार ८५ जना छन् भने साधारण धारको ग्रेड वृद्धि परीक्षामा ४ सय ४५ जना सहभागी हुँदैछन्। यस्तै, नियमित प्राविधिक धारतर्फ १०४ जना विद्यार्थी छन् भने प्राविधिक ग्रेड वृद्धि परीक्षामा दुईजनाले मात्रै सहभागिता जनाउनेछन्।

गत वर्ष धनकुटाबाट २ हजार ५ सहयोग ३६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। यस वर्ष सहभागी संख्या सामान्य वृद्धि भए पनि नियमिततर्फको सहभागिता भने क्रमशः घट्दै गएको इकाईले जनाएको छ। परीक्षा सञ्चालनका लागि जिल्लामा ११ वटा केन्द्र तोकिएका छन्। 

साँगुरीगढी गाउँपालिकाको पुण्य मावि राजारानी र ग्रामीण जनता मावि नाम्जे, सहिदभूमि गाउँपालिकाको ठाकुरदेवी मावि आँखीसल्ला, पाख्रीबास नगरपालिकाको जाल्पादेवी मावि, छथर जोरपाटी गाउँपालिकाको सरस्वती मावि सिधुवा तथा महालक्ष्मी नगरपालिकाको जनता मावि जितपुर र सरस्वती मावि चानुवा परीक्षा केन्द्र तोकिएका छन्।

त्यस्तै, धनकुटा नगरपालिकाभित्र हिले मावि, भाषा मावि कागते, गोकुण्डेश्वर माध्यमिक विद्यालय सिरानबजार र चुलिबनस्थित त्रिवेणी माविमा पनि परीक्षा सञ्चालन हुनेछ। धनकुटाका ११ वटा परीक्षा केन्द्रमध्ये ठाकुरदेवी मावि केन्द्रमा सबैभन्दा बढी ३ सय ८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । 

यस्तै सरस्वती मावि चानुवामा केन्द्रमा सबैभन्दा कम ९९ जना मात्र छन्। नियमिततर्फ सबैभन्दा कम विद्यार्थी छथर जोरपाटी ३ स्थित दामोदर माध्यमिक विद्यालयका ६ जना छन्। विद्यालयगत रूपमा भने गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका १०१ जना विद्यार्थी सहभागी हुनेछन्।

धनकुटाका छवटा स्थानीय तहमा प्राविधिक धारअन्तर्गत कक्षा ९ देखि १२ सम्म अध्ययन हुँदै आएको छ। महालक्ष्मी नगरपालिकाको जनता मावि जितपुरमा पशु विज्ञान, छथर जोरपाटीको चुलाचुली माविमा कृषि, चौबिसेको शारदा माविमा सिभिल इन्जिनियरिङ, साँगुरीगढीको भानु मावि डाँडाबजारमा इलेक्ट्रिकल इन्जिनियरिङ, सहिदभूमिको पञ्चकृष्ण मावि खोकुमा कृषि विज्ञान तथा धनकुटा नगरपालिकाको त्रिवेणी माविमा कम्प्युटर विज्ञान विषय अध्यापन भइरहेको छ।

इकाई प्रमुख इन्दिरा खड्का बुढाथोकीका अनुसार परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सम्बन्धित केन्द्रहरूमा पुर्‍याइसकिएको छ । प्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ। अब केन्द्राध्यक्ष नियुक्ति र तालिमको काम अघि बढाइनेछ र चैत १५ गतेसम्म सबै तयारी पूरा गरिने उहाँले जानकारी दिनुभयाे ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।