आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालकाे पहिलो जित

वैशाख ६, २०८३ |खेल ब्युरो
आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालकाे पहिलो जित

काठमाडौं । आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालले पहिलो जित हात पारेको छ । 

आइतबार भएको खेलमा नेपालले इटलीलाई ५० रनले पराजित गरेको हो। रुवान्डाको गहंगा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपालले फितलो प्रदर्शन गर्यो । नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय १२. रन बनाएको थियो । 

ओपनर सम्झना खड्का १३ बलमा १६ रन बनाएर आउट भइन् । सुस्त खेलेकी अर्को ओपनर विन्दु रावलले २६ बलको सामना गर्दा १५ रन मात्र जोडिन् । कप्तान इन्दु बर्मा १० रनमा मैदान बाहिरिइन् । कविता कुंवरले ४ रन मात्र बनाउन सकिन् । नेपालले १६ ओभरमा दुई विकेट गुमायो । 

कविता जोशी २ रनमा पभेलियन फर्किदा रोमा थापाले खाता खोल्न सकिनन् । रुविना क्षेत्री ५ रनमा मैदान बाहिरिन् । पुजा महतोले सर्वाधिक ४८ रन रन बनाइन् । इटलीकी एमिलिया बार्टरमले तीन विकेट हात पारिन् । जवाफमा एक सय १३ रनको लक्ष्य पछ्याएको इटालीका ब्याटर मैदानमा टिक्न नसक्दा १८ ओभर चार बलमा ६२ रन बनाएर आउट भयो। 

शीर्ष क्रमका चार खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। चार विकेट गुमाउँदा इटालीको खातामा १३ रन मात्रै थियो। कविता कुँवर र मनिषा किफायति र घातक बलिङ गरे। पाँचौं नम्बरकी चथुरिका महामलागेले २२ र तल्लो क्रमकी सेवमिनीले १२ रन बनाए पछि इटालीले कमब्याक गर्न सकेन्। 

नेपालका लागि रुविना क्षेत्रीले २ ओभर चार बलमा चार रन मात्रै खर्च गरेर चार विकेट गिराइन्। नेपालले आफ्नो पहिलो खेलमा अमेरिका संग ४४ रनको हार बेहोरेको थियो । नेपालले अब आफ्नो तेस्रो खेल बुधबार रुवान्डासँग खेल्नेछ । इटलीले पहिलो खेलमा भने घरेलु टोली रुवाण्डालाई डीएलएस पद्दतिमा १६ रनले हराएको थियो ।