पोखरामा अटिजम स्रोत कक्षा सञ्चालन : चुनौतीबीच आशाको किरण

अभिभावकलाई राहत
वैशाख २, २०८३ |भुपाल गुरुङ
पोखरामा अटिजम स्रोत कक्षा सञ्चालन : चुनौतीबीच आशाको किरण

पोखरा । नौलो र फरक स्वास्थ्य समस्या भएका व्यक्तिको मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजम पहिचानमा समस्या जटिल छ । 

अर्कोतर्फ अटिजम भएका बालबालिकाको स्याहारसुसार र हुर्काइ थप चुनौतीपूर्ण बन्ने गरेको छ। यत्तिसम्म कि यस्ता बालबालिकालाई समाज र परिवारले हेर्ने दृष्टिकोण नै फरक छ। तर, पोखरामा भने सामुदायिकस्तरमै अटिजम स्रोत कक्षा खुलेको छ। अटिजम स्रोत कक्षा खुल्दा अभिभावकलाई त सहजता भएको छ नै, बालबालिकाले पनि विशेष शिक्षा पाएका छन्।

जुम्ल्याह छोरा जन्माएकी पोखरा पालिखे चोककी राधा मल्ल पालिखेको एक छोरालाई अटिजम छ। समान्य भएको छोरा नियमित स्कुल जान कुनै रोकतोक छैन तर अटिजम भएको अर्को छोरालाई भने स्कुलले पटक पटक निकालिदिएको छ। स्कुलमा अभिभावक गएको निहुमा त कहिले शिक्षकमाथि दुर्व्यवहार गरेको बाहना बनाएर स्कुलले उहाँको छोरालाई निकालिदिन्छ। 

अटिजम भएकै कारण स्कुलहरुले उहाँको छोरालाई सामान्य बालबालिकासँग राखेर पढाउन मान्दैनन् । स्कुलको करोडौं लगानी यस्ता विद्यार्थीका कारण डुब्ने भन्दै स्कुलहरुले पटक पटक निकालेपछि घर मै राख्न बाध्य हुनुभयो । तर, गत भदौदेखि पोखरा महानगरपालिकाको सहयोगमा जानकी माध्यमिक विद्यालय पोखरा-१७ महतगौडामा जानकी अटिजम स्रोत कक्षा सञ्चालन भएको थाहा पाएपछि उहाँले छोरालाई एक महिनादेखि सोही विद्यालयमा लैजान थाल्नुभएको छ ।

पोखरा-१६ बाटुलेचौरकी सरु अधिकारीले पनि छोरा सास्वतलाई उपचार र पढाउन नेपालका सबैजसो ठाँउ र भारतसम्मै पुर्‍याउनुभयो । उहाँले पनि राधाको जस्तै नियति भोग्नुपर्‍यो । महंगो शुल्क तिरेर अटिजम केन्द्रमा पनि राख्नुभयो । तर, बच्चाको व्यवहार देखेर केही महिनामै निकालिदिए । 

निजी अटिजम केन्द्रहरुको महंगो शुल्क र स्कुलहरुले अटिजम भएका विद्यार्थीप्रति हेर्ने दृष्टिकोणले उहाँलाई सधै पिरोल्यो । केही अभिभावकसहित उहाँ अटिजम कक्षा सञ्चालन गर्न भन्दै महानगरमा प्रस्ताव लिएर जानुभयो। पहिलो प्रस्ताव महानगरबाट अस्वीकृत भएपछि डिप्रेसनसम्मै पुग्ने अवस्था आयो । तर, विभिन्न व्यक्ति, संघसंस्थासाग हारगुहार गरेपछि महानगरका प्रमुख धनराज आचार्य पनि अटिजम कक्षा सञ्चालन गर्न राजी हुनुभयो । 

अहिले छोराको अवस्थामा परिवर्तनका संकेत देखिन थालेका छन् । बिहान विद्यालय जाने र दिउासो घर फर्कने समयमा देखाएको संकेतले छोरामा परिवर्तनको आशा पलाउन थालेको उहाँको भनाइ छ । पालिखे र अधिकारी जस्तै अटिजम भएका ४० बालबालिका अहिले यो केन्द्रमा छन्। 

महानगरको शिक्षा महाशाखाले कार्यविधि बनाएर सञ्चालनमा ल्याएको विद्यालयले अटिजम भएका ४० जना बालबालिकाका लागि भर्ना आहृवान गरेकामा एक सय १३ जनाको आवेदन परेको थियो। अहिले एक जना थेरापिष्टसहित एक जना शिक्षक, चार जना सहजकर्ता र चार जना आयाको व्यवस्था महानगरले गरेको छ । तर, यो पर्याप्त नभएको र आउन जान पनि समस्या भएको विद्यालयले जनाएको छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ५० लाख लागतमा निर्माण गरिएको चारकोठे पक्की भवनमा कक्षा सुरु गरिएको छ । महानगरको सहयोगमा यो कक्षा सञ्चालन ल्याउँदा अभिभावक एवं बालबालिकाले राहतको महसुस गरेका छन् । यो कक्षामा पढाइ किताबमा मात्र सीमित छैन । 

चित्र, खेल, संगीत र दैनिक जीवनसँग जोडिएका गतिविधिमार्फत बालबालिकालाई सिकाइन्छ । शिक्षकले एकैपाठ सबैलाई एउटै तरिकाले पढाउँदैनन्, कसैलाई खेलाउँदै, कसैलाई चित्र देखाउँदै त कसैलाई हात समातेर बुझाइन्छ। राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर कुल चार हजार ८८६ जनामा अटिजम रहेको छ। 

बालेन्द्र शाह नेतृत्वको सरकारले अब सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । पोखरामा अहिले सामुदायस्तरमा केन्द्र खोलेर बालबालिका एवं अभिभावकलाई राहत त भएको छ । तर, महानगरकै कार्यविधि अनुसार ३ देखि १४ वर्षसम्मलाई मात्र त्यहाँ राख्न पाइन्छ । त्यसपछि कता लैजाने भन्ने चिन्ता भने कायमै छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।