चन्द्रगढी महिला गोल्डकप : चर्च बोइज युनाइटेड सेमिफाइनलमा प्रवेश

वैशाख ६, २०८३ |खेल ब्युरो
चन्द्रगढी महिला गोल्डकप : चर्च बोइज युनाइटेड सेमिफाइनलमा प्रवेश

झापा । झापाको भद्रपुरमा जारी चन्द्रगढी महिला गोल्डकप प्रतियोगितामा चर्च बोइज युनाइटेडले भुटानको थिम्पु सिटी फुटबल क्लबलाई ३-२ गोलअन्तरले पराजित गरी सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको २७औँ मिनेटमा चर्च ब्वाइजले अग्रता बनाएको थियो । थिम्पुकी गोलकिपर अगाडि बढेको अवस्थामा चर्च ब्वाइजकी मरियम खातुनको प्रहारले जाली चुमेको थियो । पहिलो हाफको अतिरिक्त समयमा खातुनले नै दोस्रो गोल थपिन् । 

पहिलो हाफ २-० को अग्रता बनाएको चर्चले ४४औँ मिनेटमा पहिलो गोल खायो । थिम्पुकी रोता राईले चर्चकी गोलकिपरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । भुटानले अर्को गोल उपहारमार्फत पायो । ५८औँ मिनेटमा प्रिया घलेको क्रसलाई चर्चकी डिफेन्डर मनिता तामाङले क्लियर गर्न खोज्दा गोल भएको थियो । 

७९औँ मिनेटसम्म चर्चसँग २-२ को बराबरी खेलेको थिम्पुले खेलमा अन्तिम गोल डिफेन्डरको गल्तीमा खायो । खेलको प्लेयर अफ द म्याच विजेता चर्च बोइजकी मरियम खातुन भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । सोमबारको खेल नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच हुनेछ । 

विजेताले नगद ११ लाख रुपैयाँ र ट्र्फी तथा उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।