काठमाडौं । हाम्रो विद्यालय तहका पाठ्यक्रमबारे बेलाबखत बहस भइरहन्छ ।
पाठ्यपुस्तकमा भएका तथ्यगत गल्तीहरूले त हाम्रा नानीबाबुले के पढिरहेका छन् भन्ने उजागर गर्छन् नै । तर, तथ्यगत त्रुटि मात्र नभएर यिनको सान्दर्भिकता र वैज्ञानिकतामै विज्ञहरूले प्रश्न उठाएका छन् । केही विषय नघटाई र केही नथपी सामाजिक विषयले लिएको उद्देश्य प्राप्त नहुने विज्ञहरूको ठहर छ ।
यस्तै समाजको परिचयात्मक विषयवस्तु मात्र नराखी देशले लिएको राजनीतिक र आर्थिक गन्तव्यसम्म पुग्ने गरी सामग्री समावेश गर्नुपर्ने उहाँहरूको भनाइ छ । हाम्रा पाठ्यपुस्तक कति वैज्ञानिक छन् र कति सान्दर्भिक ? यिनले विद्यार्थीलाई लक्षित सक्षमता हासिल गर्न सघाउँछन् कि सघाउँदैनन् ?
यसको जवाफ खोज्न हामीले कक्षा १० को सामाजिक अध्ययन विषयको पुस्तक विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालालाई समीक्षाका लागि दियौँ । उहाँहरू प्रायःको एकै मत थियो- यो विषयलाई थप वैज्ञानिकीकरण गर्न आवश्यक छ । कक्षा १० को सामाजिक अध्ययन विषषयले समाज स्वीकार्य आचरण र कार्य संस्कृतिको अवलम्बन गर्नसक्ने नागरिक तयार पार्ने उद्देश्य लिएको छ । तर, यो उद्देश्य अहिलेकै पाठ्यक्रमको विषयवस्तुबाट प्राप्त नहुने बरु केही विषयवस्तु थपघट गर्नुपर्ने उहाँहरूको मत छ ।
स्वावलम्बी र देशभक्त नागरिक बनाउने विषयवस्तु किताबमा धेरै रहेकाले यसलाई छोट्याएर समसामयिक चुनौतीको सामना गर्ने र परिवर्तमुखी बनाउने विषयवस्तु समेट्न जेन-जी अभियन्ता तथा त्रिविका गोल्ड मेडलिस्टले सुझाव दिनुभएको छ ।
सामाजिक विषयको किताबमा भएको जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय घटनाक्रम, युद्ध, जनसंख्यिक इतिहास, पञ्चवर्षीय योजनालगायतका विषयवस्तु पनि छोट्याउन उहाँहरूले सुझाउनुभएको छ । यस्तै भाषा, जातजाति तथा समुदायका विषय परिचयात्मक मात्र भएकाले त्यसको सट्टा जघन्य अपराध, भष्ट्राचार र खराब नैतिक आचरणका विषयमा गहनरूपमा कक्षाकोठामै सिकाउनुपर्ने विज्ञहरूको धारणा छ ।
यस्तै भावनात्मक, व्यक्तिगत र सामाजिक विकास र दैनिक जीवनसँग जोडिने डिजिटल साक्षरता तथा साइबर सुरक्षालगायतका विषयवस्तु पनि थप्न उहाँहरूको सुझाव छ । त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरिरहनुभएका राजनीतिज्ञ सुरेन्द्र पाण्डेले भने विद्यार्थीलाई देशको आर्थिक विकासक्रमसँग जोड्न कामप्रतिको सम्मान र कर तिर्ने बानीको विकास गराउने विषयवस्तु समेट्नुपर्ने बताउनुभएको छ ।
साथै, बसाइँसराइजस्ता विषय पनि सान्दर्भिक भएकाले पाठ्यपुस्तकमा समावेश गर्न सुझाव दिनुभएको छ । त्यसो त प्रत्येक वर्ष एसईईमा धेरै विद्यार्थीको सामाजिक अध्ययन विषयको नतिजा तुलनात्मकरूपमा सन्तोषजनक छैन । यसले विद्यार्थीको असफलता दर त देखाउँछ नै, सँगै यसले के पनि भन्छ भने, हाम्रा पाठ्यक्रम आफ्नो उद्देश्य प्राप्तिमा असफल भएको छ ।
चिन्ताको विषय चाहिँ कतै यही असफलता नै देशले लिएको राजनीतिक, सामाजिक र आर्थिक गन्तव्य नभेट्टाउने कारण त बन्दैन ? शिक्षाविद्, सरकार र सरोकारवालाले गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ ।