ईपीएलमा आज आर्सनल र म्यानचेस्टर सिटी भिड्दै

वैशाख ६, २०८३ |खेल ब्युरो
ईपीएलमा आज आर्सनल र म्यानचेस्टर सिटी भिड्दै

काठमाडौं । इङ्लिस प्रिमियर लिग ईपीएलको उपाधिका लागि निर्णायक मानिएको खेलमा आइतबार आर्सनल र म्यानचेस्टर सिटी भिड्दै छन् । 

आर्सनलको इतिहाड स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । ३२ खेलबाट ७० अंक जोड्दै आर्सनल हाल तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ६४ अंकका साथ दोस्रो स्थानमा छ ।

आइतबारको खेल जित्न सके आर्सनलले नौ अंकको स्पष्ट अग्रता बनाउनेछ, तर सिटीले जितेमा यो दूरी मात्र ३ अंकमा खुम्चिनेछ । सिटीका प्रशिक्षक पेप गार्डिओलाले यस खेललाई 'फाइनल' को संज्ञा दिएका छन् र हारले आफ्नो टोलीको उपाधि रक्षाको सम्भावना समाप्त हुने बताएका छ । 

सिटी पछिल्लो ९ खेलदेखि अपराजित छ भने, अर्कोतर्फ मिकेल आर्टेटाको नेतृत्वमा रहेको आर्सनलले पछिल्ला तीन घरेलु प्रतियोगितामा हार बेहोरेको छ । जसमा सिटीसँगको ईएफएल कप फाइनल पनि समावेश छ । सिटीका मुख्य आकर्षण अर्लिङ हालान्ड हुन् जो यस सिजन २२ लिग गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । 

उनीसँगै मिडफिल्डर रायन चेर्कीले १० असिस्ट गर्दै सिटीको आक्रमणलाई मजबुत बनाएका छन् । सिटीको टोलीमा निको ओरेईली फर्किएका छन् । तर, रुबेन डिआस, जोन स्टोन्स र योस्को ग्वार्डिओल जस्ता भरपर्दा डिफेन्डरहरू चोटका कारण मैदान बाहिर रहनेछन् । 

आर्सनलको टोलीमा यस सिजन १२ गोल गरिसकेका भिक्टर ग्योकेरेस र चोटपछि फर्किएका एबेरेची एजेमाथि ठूलो भरोसा छ । यद्यपि, टोलीका प्रभावशाली विङ्गर बुकायो साका चोटका कारण आजको खेलमा अनुपस्थित रहन सक्छन् । साथै मिकेल मेरिनो पनि चोटकै कारण मैदान बाहिर छन् भने कप्तान मार्टिन ओडेगार्ड र जुरियन टिम्बरको उपस्थितिबारे अझै शंका छ ।

म्यानचेस्टर सिटीले सन् २०१५ देखि इतिहाडमा आर्सनलसँग कुनै पनि लिग खेल हारेको छैन । तर, पछिल्ला पाँच प्रिमियर लिग भेटहरूमा आर्सनल सिटीसँग अपराजित छ । यस सिजनको सुरुआती लिग भेटमा यी दुई टोलीले १-१ को बराबरी खेलेका थिए । त्यसैले आजको खेलले प्रिमियर लिगको ट्रफी कुन टोलीको पोल्टामा जान्छ भन्ने कुराको बलियो संकेत दिनेछ ।