सिरहा । मधेश प्रदेशमा जिम्मेवार व्यक्तिले नै परीक्षालाई कमाउने अवसर ठान्ने र यसै कारण यहाँ हुने परीक्षाहरु विवादित बन्ने गरेका छन् । सिरहामा अहिले यस्तै घटना सार्वजनिक भएको छ, जहाँ एसईईको परीक्षा केन्द्र निर्धारणका नाममा लाखौंको आर्थिक चलखेल भएको तथ्य बाहिरिएको छ । आगामी चैत ७ गतेबाट सुरु हुन लागेको एसईईका लागि जिल्लामा आर्थिक चलखेल गरी परीक्षा केन्द्र निर्धारण भएको तथ्य बाहिरिएको हो ।
आर्थिक लेनदेन गरी भनिएकै ठाउँमा परीक्षा केन्द्र पारिएको पुष्टि हुने अडियो रेकर्ड नै कान्तिपुरले फेला पारेको छ । अडियो रेकर्ड एक निजी विद्यालयका प्रधानाध्यापक र शिक्षा विकास तथा समन्वय इकाई, सिरहाका परीक्षा शाखा प्रमुख विशाल साह कानुबीचको फोन वार्ताको हो । जसमा ती प्रधानाध्यापकले आफूले भनेको ठाउँमा केन्द्र मिलाइदिन कानुलाई आग्रह गर्छन् ।
तर, कानुले उक्त विद्यालयका लेखासँग कुरा भइसकेको र भनिएकै ठाउामा केन्द्र पर्नेमा ढुक्क हुन जवाफ दिन्छन् । यसका लागि कति पैसा तिर्नुपर्ने विषयमा भने कार्यालयमै आएर कुरा गर्न उनले आग्रह गर्छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ, सिरहाले बिहीबार सार्वजनिक गरेको परीक्षा केन्द्रको सूची हेर्दा पनि यसमा व्यापक आर्थिक चलखेल भएको विषयलाई पुष्टि गर्छ । कतिपय विद्यालयलाई निकै नजिकै पर्ने विद्यालयमा केन्द्र तोकिएको छ भने कतिपयलाई दश बाह्र किलोमिटरसम्म टाढा पर्ने केन्द्र कायम गरिएको छ । स्रोतका अनुसार, यसरी विद्यार्थी संख्याका आधारमा विद्यालयहरूसँग २५ हजारदेखि तीन लाखसम्म उठाइएको छ ।
अर्कोतिर परीक्षाका नाममा विद्यालयहरूले पनि विद्यार्थीहरूसँग पाँच सयदेखि तीन हजारसम्मका दरले असुली गरेको सुनिएको छ । शिक्षा इकाइका कर्मचारीलाई पैसा बुझाउँदा भनेको ठाउँमा पारिदिएको, पैसा नदिनेलाई निकै टाढा पर्ने केन्द्र तोकिदिएको, परीक्षा जस्तो संवेदनशील विषयलाई पनि जिम्मेवार व्यक्तिहरूले सधैं कमाउने अवसर ठान्दै आएको भन्दै यसको छानबिन गर्न स्थानीय अगुवाहरूले माग गरेका छन् ।
परीक्षा केन्द्र निर्धारण जिल्ला परीक्षा समन्वय समितिले गर्छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने यस समितिमा शिक्षा इकाइ प्रमुख, जिल्ला प्रहरी प्रमुख, सशस्त्रका जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख गरी पाँच जना हुन्छन् । तर, यस विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र शिक्षा विकास तथा समन्वय इकाइ, सिरहाका परीक्षा शाखा प्रमुख कानुले प्रतिक्रिया दिन अस्वीकार गर्नुभयो ।
यसपालिको एसईईमा सिरहामा ९५ सामुदायिक र ९३ निजी गरी १८८ विद्यालयका १० हजार ७०३ विद्यार्थी सहभागी हुँदैछन् । यसका लागि ४९ वटा परीक्षा केन्द्र कायम गरिएको छ । जिल्लामा गत वर्ष भने ४३ वटा परीक्षा केन्द्र थियो ।