आन्दोलनमा सशक्त देखिएका शिक्षकलाई कक्षाकोठामा पनि सशक्त हुन अभिभावकको माग

वैशाख २४, २०८२ |नारायण किलम्बू
आन्दोलनमा सशक्त देखिएका शिक्षकलाई कक्षाकोठामा पनि सशक्त हुन अभिभावकको माग

काठमाडौं । शिक्षकहरूको करिब एक महिनाको आन्दोलनपछि विद्यालय पुरानै लयमा फर्किएको छ । आन्दोलनले शिक्षकका पेशागत र वृत्तिविकासका माग पनि पूरा भएका छन् । अब उनीहरू बालबालिकाको सिकाइ उपलब्धि र शिक्षाको गुणस्तरवृद्धिका लागि केन्द्रित हुन्छन्, हुँदैनन् सबैको चासोको विषय बनेको छ ।

२९ दिन लामो आन्दोलनपछि सरकारले पेशागत हकहित र वृत्ति विकासका माग सम्बोधन गरेपछि शिक्षकहरू विद्यालय फर्किएका छन् । माग सम्बोधनपछि उनीहरू खुशी छन् । तर विद्यार्थी र अभिभावकले झन्डै एक महिनासम्म मानसिक तनाव झेले, बालबालिकाको शिक्षण सिकाइमा गम्भीर असर पर्यो । त्यसको परिपूर्तिका लागि के छन् त शिक्षकहरूका योजना ?

२९ हजार सामुदायिक विद्यालयका शिक्षकका माग सम्बोधन भएपछि सरकारलाई बर्सेनि ८ अर्ब रुपैयाँ व्ययभार थपिने छ । त्यसको स्रोत सरकारले यकिन गरिनसके पनि लगानी अनुसारको प्रतिफल हासिल गर्न अब शिक्षकहरू आन्दोलनमा जस्तै एकताबद्ध भएर लाग्न आवश्यक भएको शिक्षाका अधिकारीहरूको भनाइ छ । शिक्षकहरू सामुदायिक शिक्षा सुधार र गुणस्तर वृद्धिमा प्रतिबद्ध हुनुपर्ने उनीहरू बताउँछन् ।

त्यसो त सामुदायिक शिक्षाको सुधार र गुणस्तर वृद्धिका लागि निजी विद्यालयसँग साझेदारी कार्यक्रम लागू गर्ने र पाठ्यक्रममा पनि एकरूपता ल्याउने नीति सरकारले लिएको छ । शिक्षकहरूले बालमैत्री वातावरण सिर्जना गरी कक्षाकोठामा ध्यान दिन सके मात्र सामुदायिक विद्यालयको शिक्षामा सुधार आउने निजी विद्यालय सञ्चालकहरूको भनाइ छ ।

अधिकांश सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव छ । जसले गर्दा पनि बालबालिकाको सिकाइ उपलब्धिसँगै गुणस्तरमा समेत नकारात्मक प्रभाव परिरहेको छ । त्यसैले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको उज्वल भविष्यका लागि गुणस्तर सुधारमा उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।