विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द

वैशाख २६, २०८२ |खेल ब्युरो
विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं । आईसीसी महिला टी ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र हङकङबीचको खेल रद्द भएको छ । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउन्ड बैंकक, थाइल्यान्डमा हिजो राति परेको पानीको कारण आउट फिल्ड भिजेकाले खेल हुन नसकेको हो ।

खराब आउट फिल्डका कारण टस समेत हुन सकेन । खेल हुन सकेपछि समूह ‘सी’मा दुवै टिमले १–१ अंक बाँडेका छन् ।

कुल ९ राष्ट्र सहभागी छनोटमा हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेल्नेछन् । त्यसपछि प्रत्येक समूहको शीर्ष टोलीले ‘सुपर थ्री’ चरणमा स्थान बनाउनेछ । सुपर थ्रीमा पुगेका तीन टोलीमध्ये शीर्ष दुई टोलीले महिला टी ट्वेन्टी विश्वकप २०२६ को ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

ग्लोबल छनोटमा विश्वका विभिन्न क्षेत्रीय छनोट पार गरेका आठ टोलीसहित सन् २०२४ को प्रदर्शनका आधारमा सिधै छनोट भएका बंगलादेश र स्कटल्यान्ड गरी १० टोली रहनेछन् । हालसम्म अमेरिकाले अमेरिका क्षेत्रबाट ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ । ग्लोबल छनोटमा उत्कृष्ट चार टोलीले सन् २०२६ मा इङ्ल्यान्डमा हुने महिला टी ट्वेन्टी विश्वकप खेल्ने अवसर प्राप्त गर्नेछन् ।

अब नेपालले भोलि बहराइन र मंगलबार पुनः हङकङसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले जेठ १ गते बहराइनसँग खेल्नेछ ।

आजै सम्पन्न अर्को खेलमा घरेलु टोली थाइल्यान्डले कुवेतलाई ८ विकेटले पराजित गरेको छ । कुवेतले दिएको ५९ रनको सामान्य लक्ष्य थायल्यान्डले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।