धुलिखेल । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रबार धुलिखेलमा विवाद उत्पन्न भएको छ। थापालाई साधारण सभा स्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको थियो। यद्यपि, भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ।
साधारणसभाको उद्घाटन राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर गरेका थिए। एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको हो। यससँगै उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरू पनि घटनास्थलमा खटाइएको छ।
थापाले भने आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी हुन आएका बताएका छन। “कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो, कि साधारणसभामा प्रवेश दिनुपर्यो,” उहाँले भन्नुभयाे।
थापाले एन्फाले आफूलाई रोक्न सक्ने सङ्केत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। २१ वैशाखमा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो। सो आदेशअनुसार उनी साधारणसभामा सहभागी हुन पुगेका थिए।
तर एन्फाका प्रवक्ता सुरेश शाहले अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गरेका छन। “हामीले बुझ्नुपर्ने कुरा के हो भने, एन्फामा अहिले २५-३० वटा मुद्दा छन। कुन आदेश सचिवालयमा आयोरआएन भन्ने जानकारी सचिवालयबाट आउनुपर्छ,” उहाँले भन्नुभयाे।
सन् २०१५ अप्रिल १६ मा फिफाले भ्रष्टाचार र आचारसंहिता उल्लंघनको आरोपमा थापालाई १० वर्षका लागि निलम्बन गरेको थियो। सो निलम्बन सन् २०२५ अप्रिल १५ मा सकिएको थियो। प्रतिबन्ध फुकुवा भएपछि थापा फुटबल गतिविधिमा सक्रिय हुन थालेका हुन्।
यद्यपि, प्रतिबन्ध सकिएपछि पनि एन्फाले साधारणसभामा थापाको सहभागिता सुनिश्चित गर्न कति तयारी गरेको थियो भन्ने प्रश्न भने अझै अनुत्तरित देखिन्छ।