काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले माध्यमिक शिक्षा परीक्षा 'एसईई' प्रदेशमार्फत सञ्चालन गर्न माग गरेको छ ।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको टोलीले आज शिक्षामन्त्री रघुजी पन्तलाई भेटी एसईईको गरिमा र विद्यार्थीमा पठनपाठन संस्कृति र गुणस्तरमा एकरूपता कायम गर्न कक्षा १० का परीक्षा प्रदेश सरकार मातहत सञ्चालन गर्न आग्रह गरेको हो ।
प्याब्सनले शिक्षामा निजी क्षेत्रले गरेको लगानीको सुनिश्चितता गरी कम्पनी ऐन मार्फत सञ्चालन हुने वातावरण बनाउन समेत आग्रह गरेको महासचिव आरबी कटुवालले जानकारी दिनुभयो ।
भाषाका कारण धेरै विद्यार्थीले विद्यालय छाड्दै गएको परिवेशमा भाषा छनोटको अधिकार विद्यार्थीलाई दिनसमेत प्याब्सनले आग्रह गरेको छ । मन्त्री पन्तले निजी क्षेत्रले गरेको लगानीकै कारण शिक्षामा सुधार आएको भन्दै लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताउनुभयो ।