जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका-२ स्थित बिरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय, लिम्सामा कक्षा १२ को परीक्षा दिइरहेका ३ सय ४३ जना विद्यार्थीहरू पर्याप्त डेस्क-बेन्च नपुग्दा भुइँमै बसेर परीक्षा दिन बाध्य भएका छन।
जिल्लाका बढी परीक्षार्थी सहभागिता हुने केन्द्रहरूमध्ये एक मानिएको उक्त परीक्षा केन्द्रमा ३०/४० जोर डेस्क-बेन्चको अभाव छ। यस्ता असहज भौतिक पूर्वाधारबीच विद्यार्थीहरूलाई परीक्षाको तनावसँगै अपमानजनक अवस्था व्यहोर्नु परेको छ।
विद्यालय प्रशासन, जिल्ला परीक्षा समन्वय समिति, स्थानीय सरकार र जनप्रतिनिधिहरूले चासो नदेखाउँदा विद्यार्थीहरू भुइँमै बसेर परीक्षा दिन बाध्य भएका हुन्। एसईई र कक्षा १२ का परीक्षाहरू सञ्चालन हुने विद्यालयहरूमा समेत पूर्वतयारीको अभाव देखिनु गम्भीर सवाल बनेको छ।
'वर्षौं देखिको समस्या दोहोरिँदै आएको छ तर अहिलेसम्म समाधानको दिशा देखिँदैन,' एक शिक्षकले गुनासो गर्नुभयाे । 'विद्यार्थीहरू भुइँमा बसेर परीक्षा दिँदा उनीहरूको मनोबल कमजोर हुने र नतिजामा पनि असर पर्नेछ' उहाँले बताउनुभयाे ।