सामुदायिक विद्यालयमा वडाको लगानी, विद्यार्थी बोक्न स्कुल बस हस्तान्तरण

मंसिर १, २०८१ |राजु चौधरी
सामुदायिक विद्यालयमा वडाको लगानी, विद्यार्थी बोक्न स्कुल बस हस्तान्तरण

चितवन । हामीकहाँ सामुदायिक विद्यालयमा लगानी नगर्ने तर नतिजा राम्रो खोज्ने प्रवृत्ति छ । यही मनोवृत्तिका कारण धेरै सामुदायिक विद्यालय विद्यार्थी नपाएर मर्ज भएका छन् । तर चितवनको खैरहनी नगरपालिकाको २ नम्बर वडाले भने विद्यालयको स्तर वृद्धिका लागि आफैले लगानी गर्न थालेको छ । आफ्नै लगानीमा वडाले बस हस्तान्तरण गरेर विद्यालयको स्तर वृद्धिमा जुटेको हो ।

चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ ले सामुदायिक विद्यालयको स्तर वृद्धि गर्न आफ्नै बजेटमा बस सहयोग गरेको छ । राष्ट्रिय आधारभूत विद्यालय पटिहानीलाई वडाले २९ लाख विनियोजन गरेर बस हस्तान्तरण गरेको हो । सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा खोज्ने हो भने तल्लो तहबाटै सुधार र लगानी आवश्यक ठानेर वडाले बस खरिद गरेको हो । ठूला महानगर तथा नगरपालिकाले विद्यालयलाई बस दिन थाले पनि वडाको नै बजेटबाट विद्यालयको बस किनिएको नयाँ अभियान हो । 

पूर्व-पश्चिम राजमार्गबाट उत्तरतर्फ रहेको यस विद्यालयमा ५ कक्षासम्म ११४ जना विद्यार्थी पढ्छन् । गत शैक्षिक सत्रमा ८१ जना मात्रै विद्यार्थी रहेको विद्यालयमा यस वर्ष भाडामा म्याजिक चलाउन थालेपछि विद्यार्थी पनि बढेका छन् । अब आफ्नै बस सुविधा भएपछि विद्यार्थी अझै बढ्ने विश्वास गरिएको छ ।  

निजी विद्यालयलहरुले बस सुविधा लिने विद्यार्थीबाट शुल्क असुल्छन् । तर सामुदायिक विद्यालयले शुल्क लिनसक्ने अवस्था देखिँदैन । वडाले यस वर्ष बस सञ्चालनका लागि ५ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । त्यसैले वडाले दिएको बस निरन्तर सञ्चालनमा भने चुनौती छ । विद्यालयले बस सेवालाई स्थायित्व दिन कस्तो रणनीति अपनाउँछ  ।

यस विद्यालयमा हालै वडाको बजेटबाट नै ४ कोठे दुई तल्ले भवनसमेत बनेको छ । सामुदायिक विद्यालयमा राम्रो नतिजा खोज्ने हो भने यसप्रकारको अग्रसरता वडा तहबाट नै हुन आवश्यक छ ।  


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement