पाठ्यक्रममा नैतिक शिक्षा, पढाउँदै बाँकेको डुडुवा गाउँपालिका

असार २१, २०८१ |जे पाण्डे
पाठ्यक्रममा नैतिक शिक्षा, पढाउँदै बाँकेको डुडुवा गाउँपालिका

बाँके । समाज शिक्षित हुँदै जाँदा संस्कार, संस्कृति र आदर्शसँगै एक-अर्काप्रतिको माया र सम्मानको भावना पनि विकास हुँदै जानुपर्ने हो । तर पढेलेखेका मानिसमै संस्कार र नैतिकताको अभाव देखिन थालेपछि बाँकेको डुडुवा गाउँपालिकाले स्थानीय पाठ्यक्रम नै बनाएर पठनपाठन गराउन थालेको छ । यसले शिक्षक र विद्यार्थीबीच आपसी माया र सम्मानको भावना अभिवृद्धिसँगै हरेक व्यक्तिलाई नैतिकवान् तुल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बाँकेको राप्ती नदीतटीय ग्रामीण बस्ती डुडुवाकी सत्ती पाठक र नन्दनी बर्माले घरबाट स्कुल आउनु्अघि र पढेर घर फर्किएपछि परिवारका सबै मान्यजनलाई साइनो अनुरुपको उच्च आदर-सम्मानसँगै ढोग गर्न थाल्नुभएको छ । स्कुलमा संस्कार र नैतिक शिक्षाबारे पढाउन र सिकाउन थालेसँगै बालबालिका अनुशासित भएका त छन् नै, परिवारका अन्य सदस्यहरुको व्यवहारमा समेत परिवर्तन देखिएको छ ।

शिक्षकले विद्यार्थीलाई माया गर्छन्, विद्यार्थीले शिक्षकलाई आदर, सम्मान गर्छन् । विद्यालयदेखि गाउँघरसम्मै एकले अर्कालाई आदर गर्ने परम्परा विकसित हुँदै गएको अभिभावकहरुको अनुभव छ ।

घर नै हरेक व्यक्तिको पहिलो पाठशाला हो । संस्कार र नैतिक शिक्षाको थालनी घर भित्रैबाट गर्ने उद्देश्यका साथ डुडुवा गाउँपालिकाले १६औं गाउँसभाबाट संस्कार र नैतिक शिक्षा अभिवृद्धिको नीति तथा कार्यक्रम ल्याएको हो ।

यसमा गाउँपालिकाले शिक्षक तथा अभिभावकहरुको पनि साथ पाएको छ । डुडुवा गाउँपालिका सीमावर्ती क्षेत्र हो । त्यसैले पनि यो पालिकाले नैतिक शिक्षसँगै विद्यार्थीहरुमा राष्ट्र, राष्ट्रियता र देश भक्तिको भावना जगाउने नीति अवलम्बन गरेको हो ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।