नि:शुल्क पढ्न पाइने भएपछि गौमुखी क्याम्पसमा विद्यार्थीको चाप बढ्यो

चैत्र ३०, २०८० |शमशेरविक्रम जीसी
नि:शुल्क पढ्न पाइने भएपछि गौमुखी क्याम्पसमा विद्यार्थीको चाप बढ्यो

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले उच्च शिक्षामा नि:शुल्क पढाइ सुरु गरेपछि आर्थिक अवस्था कमजोर भएर बीचैमा पढाइ छाड्नुपर्ने बाध्यता भएका विद्यार्थी लाभान्वित भएका छन् । नि:शुल्क शिक्षाको व्यवस्था भएपछि विद्यार्थी अभाव झेल्दै आएको क्याम्पसमा विद्यार्थी संख्या दोब्बरले बढेको छ ।

यो प्युठानको झिमरुक गाउँपालिकामा रहेको गौमुखी क्याम्पस कुनै समय विद्यार्थी अभावले थलिएको थियो । विद्यार्थी नहुँदा क्याम्पस सञ्चालन गर्नै समस्या थियो । क्याम्पसका प्राध्यापकले लामो समयसम्म पारिश्रमिक पाउँदैथे । अहिले भने अवस्था फेरिएको छ । गत वर्ष क्याम्पसमा ५३ विद्यार्थी भर्ना भएकामा यो वर्ष अहिलेसम्म १५३ विद्यार्थी पुगिसकेका छन् । झिमरुक गाउँपालिकाले गौमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई नि:शुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थी बढेको क्याम्पस प्रमुख शेरबहादुर जीसीले जनाए ।

झिमरुक गाउँपालिकाले गत आर्थिक वर्षबाट क्याम्पसलाई अनुदानबापत रकम उपलब्ध गराउन थालेको हो । गत आर्थिक वर्षमा २५ लाख रुपैयाँ सहयोग गरेको गाउँपालिकाले चालु आर्थिक वर्षबाट भने विद्यार्थीको भर्ना र मासिक शुल्क तिरिदिने गरेको विद्यार्थी प्रताप न्यौपानेले जनाए । जसले आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययन गर्न नसकेका विद्यार्थीलाई सहयोग पुगेको छ ।

उत्तरपूर्वी प्युठानको एकमात्रै क्याम्पस गौमुखीमा अहिले बीबीएस र बीएड संकायको अध्ययन अध्यापन हुने गरेको छ । पाँचवटा क्याम्पस रहेको प्युठानमा अन्य स्थानीय तहहरुले पनि क्याम्पस सञ्चालन गर्न अनुदान दिने गरेका छन् । तर उक्त अनुदान क्याम्पस सञ्चालन र प्राध्यापक पारिश्रमिकमा खर्च हुने गरेको छ । तर झिमरुक गाउँपालिकाले भने विद्यार्थीमै लगानी गरेको गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलको भनाइ छ ।

विद्यार्थी अभाव झेल्दै आएका ग्रामीण क्षेत्रका क्याम्पसमा विद्यार्थी फर्काउन झिमरुक गाउँपालिकाले गरेको यो नीति सहयोगी देखिएको छ ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement