आईसीसी विश्वकप लिग टू : नेपालले भाेलि यूएईसँग प्रतिस्पर्धा गर्ने

कार्तिक १८, २०८२ |खेल ब्युरो
आईसीसी विश्वकप लिग टू : नेपालले भाेलि यूएईसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि यूएई भ्रमणमा रहेको नेपालले सिरिजको अन्तिम खेलमा बुधबार घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । 

आईसीसी एकेडेमी ग्राउण्डमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । लगातार तीन हार बेहोरेको नेपाल यस सिरिजमा जितविहीन बन्ने जोखिममा छ । अमेरिका र यूएईसँगका सुरूवाती दुई खेलमा एकपक्षीय हार बेहोरेको नेपालले अमेरिकासँगको तेस्रो खेलमा केही सुधारिएको खेल प्रदर्शन गरे पनि जित हात पार्न सकेन । 

अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिए पनि नेपालले यो योगफललाई रक्षा गर्न सकेको थिएन । लगातार हारले नेपालको सिधै विश्वकप छनोटसम्म पुग्ने सम्भावना कठीन बन्दा एकदिवसीय मान्यता जोगाउन पनि निकै सुधारिएको प्रदर्शन गर्नु पर्नेछ । अपराजित रूपमा टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्दै २०२६ मा स्थान सुरक्षित गरेको नेपालले ओडीआईमा भने कमजोर प्रदर्शन गरेको छ । 

शृंखलामा तीन खेल हारेको नेपाल सान्त्वना जितको खोजीमा हुने छ । अघिल्लो खेलमा अमेरिकासँग २ सय ४३ रनको फराकिलो हार बेहोरेको यूएईले पनि घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको छ । यस सिरिजमा यूएई अमेरिकासँगका दुबै खेलमा पराजित भएको छ भने नेपालविरूद्ध जित हात पारेको छ ।

लिग-टूमा नेपाल हाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ । समान खेलमा ८ अकं जोडेको यूएई पुछारमा छ ।