नेपाल एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा

कार्तिक १८, २०८२ |खेल ब्युरो
नेपाल एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब झापाको दूधे रंगशालामा जारी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७-० गोलअन्तरले पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एकतर्फी भएको खेलमा रस्मी कुमारी घिसिङले ह्याट्रिक गरिन् । उनले खेलको ४१, ४६ र ८४ औं मिनटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् । 

अनिता बस्नेतले २ तथा सविता राना मगर र अनिता केसीले १-१ गोलको योगदन दिए । खेल अवधिभर सिक्किमका खेलाडीले आक्रमणको कुनै अवसर बनाउन सकेनन् । म्यान अफ दी म्याच बनेकी एपीएफकी रस्मी कुमारी घिसिङले नगद १५ हजार रूपैयाँ हात पारिन् ।

प्रतियोगिताअन्तर्गत बुधबार हुने खेलमा संकटा फुटबल क्लब र आयोजक झापा एफसी प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ८ टिम सहभागी छन् । फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेताले नगद १० लाख १० हजार र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।