उच्च शिक्षा हासिल गरेका १९ प्रतिशत युवा पूर्ण बेरोजगार

फाल्गुन १९, २०७९ |नारायण किलम्बू
उच्च शिक्षा हासिल गरेका १९ प्रतिशत युवा पूर्ण बेरोजगार

काठमाडौं । नेपालको कुल जनसंख्याको ४० प्रतिशत युवा छन् । तीमध्ये धेरै बेरोजगार छन् । शिक्षालाई सीप र उद्यमशीलतासँग जोड्न नसक्दा उच्चशिक्षा हासिल गरे पनि धेरै कामविहीन अवस्थामा छन् भने उच्चशिक्षा र श्रमका लागि पनि धेरै युवा विदेशिने गरेका छन् । एक दर्जनभन्दा बढी मन्त्रालयले युवालक्षित कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेका छैनन् ।

नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिन्छ । कुल जनसंख्याको ४० प्रतिशत अर्थात् १ करोड ६ लाख नागरिक युवा छन् । तीमध्ये १० प्रतिशतमात्र रोजगारीमा छन् । १९ दशमलव २ प्रतिशत पूर्ण बेरोजगार छन् भने उच्चशिक्षा हासिल गरेका २६ प्रतिशत रोजगारीको खोजीमा छन् ।

नेपालबाट बर्सेनि ६ लाख युवा कामको खोजीमा विभिन्न मुलुक पुग्छन् ।

स्वदेशमा रोजगारीको अवसर सुनिश्चित नहुँदा सन् २०२२ मा १ लाख २२ हजारले वैदेशिक अध्ययन अनुमति लिए । यसबाहेक बर्सेनि ६ लाख युवा कामको खोजीमा विभिन्न मुलुक पुग्ने गरेका छन् । बढ्दो युवा बेरोजगारीलाई मध्यनजर गरी युवा परिषद्ले उद्यमशीलता, सीप विकास र वित्तीय साक्षरतासम्बन्धी तालिम दिई आत्मनिर्भर बनाए पनि प्रभावकारी हुन सकेको छैन ।

विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई सीप र रोजगारसँग जोड्न सकिएको छैन, जसले गर्दा धेरै युवा रोजगारीका अवसरबाट बञ्चित छन् । यसले मुलुकको आर्थिक, सामाजिकदेखि लिएर हेरक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ ।

त्यसो त शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम, खेलकुदलगायत दर्जनभन्दा मन्त्रालयले युवालक्षित कार्यक्रम गर्दै आएका छन् । ती कार्यक्रममा एकरुपता नहुादा युवालाई आत्मनिर्भर बनाउने प्रयास सफल हुन नसकेको राष्ट्रिय युवा परिषद्‌का सदस्य-सचिव रमाकान्त शर्माको भनाइ छ ।

बेरोजगारी समस्या कम गर्न विद्यालय तहदेखि नै सीप र रोजगारमूलक शिक्षा त आवश्यक छ नै, युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने खालका नीतिनियम निर्माण र कार्यान्वयनको पनि खाँचो छ । 

सम्बन्धित समाचार...

विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने सरकारी योजना निष्प्रभावी
स्थानीय तहमा युवा पुस्ताको सहभागिता चुनौतिपूर्ण


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।