काठमाडौं । संसद्को शिक्षा समितिले शिक्षाबाहेकका संकायमा उच्चशिक्षा हासिल गरेकाले पनि सामुदायिक विद्यालयमा शिक्षक हुन पाउने निर्णय गरेको छ ।
समितिको आइतबार बसेको बैठकले जुनसुकै संकायबाट उच्चशिक्षा हासिल गरेकाले पनि शिक्षक बन्न पाउने प्रावधान शिक्षा विधेयकमा समावेश गर्ने निर्णय गरेको हो ।
अहिलेसम्म शिक्षा संकाय अध्ययन गरेकाले मात्र शिक्षक बन्न पाउने कानूनी व्यवस्था छ । सबै संकायलाई खुला गरिए पनि शिक्षक लाइसेन्स भने अनिवार्य गरिएको छ । शिक्षक सेवा आयोगले लिने लाइसेन्स परीक्षामा शिक्षा संकायबाहेकले पनि दिन पाउने प्रावधान गरिएको छ ।
यस्तै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले हरेक पाँच-पाँच वर्षमा नयाँ पाठ्यक्रम अनुसार पुनर्ताजगी तालिमसमेत लिनुपर्ने कानूनी व्यवस्था गरिएको छ । समितिको बैठकले राष्ट्रिय परीक्षा बोर्डको सदस्य-सचिवमा वरिष्ठ अधिकृत रहने गरी पारित गरेको छ ।
बोर्डमा रहेका अस्थायी प्रकृतिका कर्मचारीहरूलाई भन्ने एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने र असफल भएकालाई गोल्डेन ह्याण्डसेक दिने समेत समितिले निर्णय गरेको छ ।
बालविकास केन्द्रमा अध्यापन गर्नेलाई शिक्षक भन्ने वा सहजकर्ता भन्ने विषय टुङ्गिन बाँकी छ । संसद्को शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक भोलि पास गर्ने तयारी छ ।