विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने सरकारी योजना निष्प्रभावी

माघ ६, २०७८
विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने सरकारी योजना निष्प्रभावी

विदेशबाट रोजगारी गरेर फर्केका युवालाई स्वदेशमै उद्यममा लगाउने भनेर सरकारले पटकपटक भन्दै आएको छ । हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो विषय समेटिने गर्दछ । तर सरकारले बनाएका योजना प्रभावकारी हुन सकेका छैनन् । स्वदेश फर्केका युवालाई  सहुलियत दरमा ऋण उपलब्ध गराएर उद्यममा लगाउँदै देशको उत्पादकत्व बढाउने भने पनि तीन वर्षको बीचमा जम्मा ९ सय ५४ जनाले मात्रै यस्तो ऋण पाएका छन् । 

कोरोना महामारी अघि दैनिक १८ सय युवा कामको खोजिमा विदेशिने गरेका थिए । स्वदेशमा रोजगारीको अभावमा बाहिरिएको यस्तो जनशक्तिले रेमिट्यान्स पठाए पनि त्यसको अधिकांश हिस्सा उपभोगमा खर्च हुने गरेको छ । युवा विदेशिँदा मुलुक भने खाद्यान्नमै परनिर्भर बन्दै छ । कृषि प्रधान मुलुकले नै वर्षेनी डेढ खर्बभन्दा बढिको खाद्यान्न तथा कृषिजन्य बस्तु आयात गर्छ । यही अवस्थालाई मध्यनजर गरेर सरकारले तीन वर्षअघि विदेशमा रोजगारी गरेर फर्केकालाई स्वदेशमै उत्पादनमूलक काममा जोड्ने भन्दै अनुदानमा ऋण दिने व्यवस्था गर्यो । तर, हालसम्म ९ सय ५४ जनाले मात्रै यस्तो कर्जा पाएका छन् । सरकारी निकायहरु भने यही नतिजानै प्रभावकारी भएको दाबी गर्छन् । 

विदेशबाट फर्केका युवाले १० लाख रुपैयासम्म विना धितो बैंकबाट ऋण लिन सक्छन् । अहिले बैंकहरुको  आधार दर ८ प्रतिशतको हाराहारीमा छ । यस्तो कर्जामा आधार दरमा दुई प्रतिशतभन्दा बढि ब्याज लिन पाइँदैन । तर बैंकहरुको असहयोगका कारण सहुलियतपूर्ण कर्जा उत्साहजनक रुपमा जान सकेको छैन । जबकी सहुलियतपूर्ण कर्जा लिएर गरिएको व्यवसायको बिमासमेत गरिएको हुन्छ । जसमा राज्यले नै प्रिमियमको आधा रकम बेहोर्छ । बल्लतल्ल ऋण लिएर सुरु गरेको व्यवसायबाट उत्पादित बस्तुको बजार सुनिश्चित गर्न सरकारले प्रयास नगर्दा युवाहरु फेरि कामको खोजीमा बिदेशीने सोचमा पुग्ने गरेका छन् ।

निकै थोरै व्यक्तिलाई प्रदान गरिएको कर्जा पनि पहुँचवालाकै आसेपासेले पाएको देखिन्छ । योजना सार्वजनिक गरेर मात्रै हुँदैन त्यसलाई लक्षित वर्गसम्म पुर्याउन नसक्ने हो भने युवा जनशक्ति पलायन हुनबाट रोक्न सकिँदैन ।