प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकलाई सहायताका लागि विश्व समुदायलाई आह्वान

असार १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकलाई सहायताका लागि विश्व समुदायलाई आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा समग्र आर्थिक वृद्धि भए पनि अल्पविकसित मुलुकहरू पछाडि पारिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षसमेत हो।

स्पेनको सेभियामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास सहयोग घट्दै गएको, ऋणको भार तीन गुणाले बढेको, लगानी कमजोर रहेको, प्रविधिमा गहिरो खाडल रहेको र जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार यिनै मुलुकले व्यहोर्नु परेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री ओलीले न्यायसंगत तथा समावेशी वैश्विक आर्थिक प्रणाली निर्माणको माग गर्दै विकास साझेदारहरूले कुल राष्ट्रिय आम्दानीको शून्य दशमलब ७ प्रतिशत विकासशील राष्ट्रहरूलाई र शून्य दशमलब २ प्रतिशत अल्पविकसित राष्ट्रहरूलाई सहायता दिनुपर्ने बताउनुभयो ।

उहाँले अनुदान र सहुलियतपूर्ण ऋणको पहुँच बढाउनुपर्ने, तथा संयुक्त राष्ट्रसंघको नेतृत्वमा अन्तर्राष्ट्रिय कर सम्झौता गर्नुपर्ने धारणा राख्नुभयो। ओलीले सेभिया प्रतिवद्धता २०३० को दिगो विकास लक्ष्य प्राप्तिका लागि टर्निङ पोइन्ट हुने विश्वास व्यक्त गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयनमा जोड दिनुभयो।

नेपाल सन् २०२६ मा एलडीसीबाट स्तरोन्नति गर्न लागिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सहुलियतपूर्ण वित्तीय र प्राविधिक सहयोगको आवश्यकता दोहोर्याउँदै सबैलाई समेट्ने दिगो र न्यायपूर्ण विश्व निर्माण गर्न आह्वान गर्नुभयो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.