कागेश्वरी मनोहरा ‘निःशुल्क शिक्षा’ पालिकामा रूपान्तरण

बाल संरक्षण र समावेशी शिक्षामा उदाहरणीय पहलकदमी
असार १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कागेश्वरी मनोहरा ‘निःशुल्क शिक्षा’ पालिकामा रूपान्तरण

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका अबदेखि औपचारिक रूपमा ‘अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा गरिएको छ। 

नगरप्रमुख उपेन्द्र कार्कीको दूरदर्शी, साहसी र जनउत्तरदायी नेतृत्वमा नगरपालिकाले शिक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो। 

निःशुल्क शिक्षा ऐन २०७५ अनुसार नगरभित्र ४ देखि १४ वर्ष उमेर समूहका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भन्ने लक्ष्यसहित सबै सामुदायिक विद्यालयमा शुल्क पूर्ण रूपमा हटाइएको छ। 

नगरप्रमुख कार्कीले अब कुनै पनि विद्यालयले परीक्षा शुल्क, भर्ना शुल्क वा अन्य कुनै बहानामा विद्यार्थीहरूसँग पैसा लिन नपाउने कडा व्यवस्था लागू गरेको जानकारी दिएका छन्।

हाल नगरभित्र रहेका १५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब ९ हजार बालबालिकालाई प्रत्यक्ष लाभ पुग्नेछ। तर यति मात्र होइन, नगरप्रमुख कार्कीको संवेदनशील दृष्टिकोण अझ गहिरो छ। 

उनले शिक्षाबाट वञ्चित, अभिभावकविहीन, जेलमा रहेका आमाबुबाका छोराछोरी, कुमारी आमाबाट जन्मिएका वा आर्थिक विपन्नताका कारण पढ्न नपाएका बालबालिकालाई लक्षित गर्दै ‘मेरो दोश्रो अभिभावक अभियान सुरू गरेका छन्। 

सामाजिक उत्तरदायित्वमा आधारित यस अभियानअन्तर्गत उनले स्वयं १० जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् भने उपप्रमुख शान्ता थापाले ५ जनाको संरक्षकत्व लिएकी छन्।

शिक्षा शाखाकाअनुसार हालसम्म ३ सय ६९ बालबालिकाले प्रत्यक्ष रूपमा संरक्षण पाइसकेका छन् र यो संख्या ९ सय पुर्‍याउने लक्ष्य लिइएको छ। यस अभियानमा संलग्न हुनेले एक वर्षमा प्रति बालक औसत ७ हजारदेखि १० हजार रूपैयाँ सहयोग गरे पुग्ने व्यवस्था गरिएको छ, जसबाट स्टेशनरी, पोसाक, दिवा खाजालगायतको व्यवस्था हुन्छ।

बालबालिकाको हकमा समावेशी र विशेष शिक्षालाई समेत सम्बोधन गर्दै नगरप्रमुख कार्कीले ६३ जना अपाङ्ग तथा अटिजम भएका बालबालिकाका लागि यसै आर्थिक वर्षभित्र ‘डे केयर एजुकेशन सेन्टर’ सञ्चालन गर्ने घोषणा गरेका छन्। 

यस्तै, नगरपालिका स्तरमै शिक्षामा सुधारका लागि ‘एनजी उन्मूलन अभियान’, ‘रातो बंगला साझेदारी कार्यक्रम, र ‘सार्थक बाल सिकाइ कार्यक्रम जस्ता कार्यक्रमहरू प्रभावकारी ढंगले अघि बढाइएको छ।

नगरप्रमुख कार्कीको यस्तो स्पष्ट दृष्टिकोण, कार्यन्वयन क्षमतायुक्त नेतृत्व र जिम्मेवार भावनाले कागेश्वरी मनोहरा नगरपालिकालाई अब निःशुल्क, समावेशी र संरक्षित शिक्षाको राष्ट्रिय नमुनाको रूपमा स्थापित गरिदिएको छ। 

शिक्षालाई अवसर होइन, अधिकारको रूपमा व्यवहारमा उतार्ने पालिका बनेको कागेश्वरी मनोहरा अब बालबालिकाका उज्यालो भविष्यको लागि अग्रसर पालिकाका रूपमा चिनिन थालेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.