सरकार र कांग्रेसले समय मागेपछि अन्तिम समयमा रोकियो शिक्षा विधेयक

असार १६, २०८२ |नारायण किलम्बू
सरकार र कांग्रेसले समय मागेपछि अन्तिम समयमा रोकियो शिक्षा विधेयक

काठमाडौं । संसद्को शिक्षा समितिले विद्यालय शिक्षा विधेयक सोमबार पनि पास गर्न सकेन । समितिले यो विधेयक सोमबार नै पारित गर्ने भने पनि अन्तिम समयमा आएर रोकिएको हो ।

सरकार र नेपाली कांग्रेसले शिक्षक महासंघसँग अझै केही विषयमा सहमति हुन बाँकी रहेको भन्दै समितिको बैठक स्थगित गर्न र विधेयक पारित नगर्न आग्रह गरेपछि समितिबाट विधेयक पारित हुन नसकेको हो ।

शिक्षा समितिको सोमबारको बैठकको शुरुमै शिक्षामन्त्री रघुजी पन्त र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठक स्थगित गर्न आग्रह गरेपछि तनावको स्थिति बनेको थियो । विहान बसेको परामर्श बैठकमा अस्थायी शिक्षकलाई ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी गर्न सहमत हुनुभएका शिक्षामन्त्री र काँग्रेसका प्रमुख सचेतकले एकाएक बैठक स्थगित गर्न आग्रह गरेपछि समिति बैठकमा तनाव उत्पन्न भएको हो । तर समितिले यसअघि नै यो विषय टुंगो लागिसकेको भन्दै अब परिवर्तन नहुने अडान राखेको छ ।

शिक्षामन्त्री पन्तले भने सरकारले विधेयकलाई अन्तिम टुङ्गो लगाउन समय माग गरेपछि समितिले दिनुपर्ने तर्क गर्नुभएको छ । मन्त्रीको भनाइमा कांग्रेसका प्रमुख सचेतकले पनि साथ दिनुभएको छ । अस्थायी शिक्षकलाई ७५ प्रतिशत कोटा दिनुपर्ने तर्क उहाँहरुको छ ।

समितिमा सहभागी अन्य सांसदले भने सहमति भइसकेको विषयलाई फेरि बल्झाउन नहुने बताएका छन् । सरकारले पटक–पटक समय माग गर्दासमेत कुनै प्रगति नभएको समितिको तर्क छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।