आधुनिक नेपाली पत्रकारिताको मानकको रूपमा उभिएको कान्तिपुर टेलिभिजन आजदेखि २२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको छ । यो दिनलाई हामीले सत्य तथ्य समाचार, विधिको शासन, लोकतान्त्रिक शासन प्रणाली र जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारीबोधको अर्को खुड्किलोको रूपमा लिएका छौं ।
सूचना, समाचार र मनोरञ्जनका लागि नेपाली दर्शकको घर घरको सदस्य हो कान्तिपुर । देश सशस्त्र द्वन्द्वले आक्रान्त भएको र प्रतिनिधि सभा समेत विघटन गरी तत्कालीन राजाले राज्यसत्ता हातमा लिएको कठिन समयमा पहिलो पटक प्रसारण भएको थियो कान्तिपुर टेलिभिजन । त्यस यता लोकतन्त्र, नागरिक अधिकार र राज्यको सार्वभौमसत्ता नागरिकमै स्थापित गर्ने लोकतान्त्रिक आन्दोलनको सहयात्री बन्दै सुशासन र नागरिक अधिकारका लागि कान्तिपुरले खबरदारी गरिरहेको छ ।
बितेका २२ वर्ष हरेक कठिन समयमा नागरिककै पक्षमा दह्रिलो उपस्थिति जनाएको कान्तिपुर टेलिभिजनले सत्य, तथ्य र नागरिकमुखी समाचारकै माध्यमबाट दर्शकको विश्वास जित्दै आएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा होस्, कि राजनीतिक संक्रमणहरूको व्यवस्थापनमा होस्, भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप होस् कि कोभिड-१९ महामारी होस्, कान्तिपुरको केन्द्रमा जनता नै छन् । हाम्रो अग्रसमाचारमा सुशासन, सेवा प्रवाह र विकास नै छ ।
भ्रष्टाचार र अनियमितता उजागर गर्न तथा बेथिति र कुशासनको विरोध गर्न हामी कहिल्यै पछि हटेका छैनौं । सत्ता र शक्तिमा रहेकाबाट भएका हरेक गलत कार्य, उनीहरूले गरेका निर्णय र बनाएका रीति र नीतिलाई पर्दाफास गर्ने पत्रकारिताको कर्तव्य निर्वाहमा सधैं नेतृत्वदायी भूमिकामा छौं । यति हुँदा हुँदै पनि कहिले राजनीतिक दल, कहिले सत्ता र कहिले शक्तिको आवरणमा कान्तिपुरमाथि पटक पटक आक्रमण गर्ने, निरुत्साहित र अपमान गर्ने कार्य नभएका होइनन् । तर हामी कहिल्यै डगमाएनौं । हाम्रा लागि विधि पहिलो हो । हाम्रा लागि देशको संविधान र व्यवस्था महत्त्वपूर्ण हो । यसको पक्षपोषण गर्दा आउने कुनै पनि प्रकारको दबाब र प्रभावभन्दा माथि रहने हाम्रो प्रतिबद्धता हो ।
राज्यको चौथो अंगको जिम्मेवारी पूरा गर्न कान्तिपुरले देशका हरेक भूगोल र समुदायसम्म पुगी नागरिक आवाजलाई मुखरित गरिरहेको छ, गरिरहनेछ । समाजमा पिल्सिएका, दबाइएका र पछाडि पारिएकाहरूका पक्षमा हामी सधैं उभिएका छौं, उभिई नै रहने छौं ।
जसको सत्ता र शक्तिमा पहुँच छैन, उसको आवाज हो कान्तिपुर ।
आज प्रविधिले मानिसको जीवनशैली मात्र बदलिएको छैन, मान्यता र विश्वास पनि बदलिएका छन् । मिडियाबाट प्रवाहित सूचना तथा समाचार ग्रहण गर्ने प्रवृत्तिमा पनि व्यापक परिवर्तन आएको छ । सूचना प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दर्शक, स्रोता र पाठकलाई मिथ्या र भ्रामक सूचनाले प्रभावित पारिरहेको छ । यो परिदृश्यमा सूचनाको विश्वसनीयता कायम गर्दै प्रविधि अनुकूल फड्को मार्नु अबको हाम्रो प्राथमिकता हो, जिम्मेवारी पनि हो । यसकारण हामी प्राविधिक रूपमा टेलिभिजन स्क्रीनसँगै मोबाइलको स्क्रिनसम्म, सामाजिक सञ्जाल, वेबसाइट र मोबाइल एप्लिकेसनसम्म फैलिएका छौं ।
परम्परागत टेलिभिजनको परिभाषाबाट बाहिर निस्किएर हामी दर्शकमात्र होइन, स्रोता र पाठकसम्म पनि पुगिरहेका छौं । यो आम नेपाली दर्शक, स्रोता र पाठकले कान्तिपुरमाथि गरेको विश्वास र भरोसाको परिणाम हो । तर पछिल्लो समय सञ्चारकर्मीमा छाइरहेको सेल्फ सेन्सरशिपको त्रास र नागरिक समाजले भोगिरहेको नागरिक मञ्चको खुम्चिँदो अवस्थाप्रति हामी चिन्तित छौं । कान्तिपुर टेलिभिजन २३ वर्ष प्रवेश गरेको यो अवसरमा हामी प्रतिबद्धता जनाउँछौं- लोकतान्त्रिक मूल्य मान्यतालाई मजबुत बनाउँदै पत्रकारिता एवं मिडियाको मर्म र पत्रकार तथा प्रेसको कर्मलाई जीवन्त र परिणाममुखी बनाउने कार्यमा हाम्रो अविच्छिन्न यात्रा रोकिने छैन, बरु थप मजबुत, परिष्कृत र विश्वसनीय बन्दै अघि बढिरहने छौं । हामी प्रश्न गर्न र जवाफदेहिता खोज्न छाड्ने छैनौं ।