
काठमाडौं । इथियोपियामा १२ हजार वर्षदेखि निस्क्रिय 'हाइली गुब्बी' नामक ज्वालामुखी बिस्फोट भएपछि त्यसको असर नेपालको उड्डयन क्षेत्रमा समेत परेको छ।
ज्वालामुखीबाट निस्किएका धूलोजन्य कण र सल्फरयुक्त खरानी अन्तर्राष्ट्रिय उडानमार्गमा फैलिँदा नेपालका उडान प्रभावित भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले ज्वालामुखीले नेपालको अन्तर्राष्ट्रिय उडान प्रभावित भएको र यो अवस्था आज मध्यरात १२ बजेसम्म कायम रहने जानकारी दिनुभयो । भारत, कतार, यूएई र टर्कीसहितका गन्तव्यमा उड्ने विमानहरूको मार्गमा ज्वालामुखीजन्य धूलोका कण तथा खरानी फैलिएका हुन् ।
भारतीय नागरिक उड्डयन महानिर्देशनालयले पनि ज्वालामुखीजन्य बादलको बढ्दो जोखिमका कारण प्रभावित क्षेत्रबाट उडान नगर्न निर्देशन दिएको छ । बीबीसीकाअनुसार एयर इन्डियाले ११ उडान रद्द गरेको छ भने कतिपयले मार्ग नै परिवर्तन गरेका छन् ।
ज्वालामुखीजन्य धूलोका कणले विमानको इन्जिनलाई क्षति पुर्याउन सक्ने भएकाले उडान सञ्चालन नै खतरापूर्ण हुने बताइएको छ। ज्वालामुखीको खरानी यमन, ओमान हुँदै पाकिस्तान र भारततिर फैलिएको सीएनएनले जनाएको छ । खरानी सोमबार राति पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेपछि पाकिस्तानको मौसम विभागले चेतावनी जारी गरेको थियो ।
इथियोपियाको उत्तरपूर्वी क्षेत्रमा रहेको हाइली गुब्बी ज्वालामुखी १२ हजार वर्षको अन्तरालमा आइतबार विस्फोट भएको बताइएको छ । विस्फोटबाट नौ माइलसम्म घना धुँवाको मुस्लो आकाशतिर फैलिएको छ । ज्वालामुखी इथियोपियाको राजधानी आदिस अबाब सहरबाट ५ सय माइल उत्तरपूर्वको अफार क्षेत्रमा रहेको छ ।