ट्राइ नेसन्स कप : नेपाली महिला फुटबल टिमले भाेलि इन्डोनेसियाको सामना गर्ने

मंसिर ९, २०८२ |खेल ब्युरो
ट्राइ नेसन्स कप : नेपाली महिला फुटबल टिमले भाेलि इन्डोनेसियाको सामना गर्ने

काठमाडौं । नेपाली महिला फुटबल टिमले इन्डोनेसियामा जारी ट्राइ नेसन्स कपको पहिलो खेलमा बुधबार साँझ सवा ६ बजे आयोजक टोली इन्डोनेसियाको सामना गर्नेछ। 

यो खेलका लागि नेपाली टिम मंगलबार बिहान मात्रै इन्डोनेसिया पुगेको कारण थकानले प्रभाव पार्ने भएको छ । इन्डोनेसियाका लागि नेपाली टोलीले २० घन्टा यात्रामा बिताउनुपरेको थियो। यद्यपि बलियो मानसिकताका साथ मैदानमा उत्रने कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले बताएकी छन्।

फिफा विश्व वरियतामा नेपाल ८९औं स्थानमा छ भने इन्डोनेसिया १ सय ६ स्थानमा छ। यद्यपि इन्डोनेसियाले भर्खरै मात्र दुई पासपोर्ट बाहक खेलाडीलाई राष्ट्रिय टिममा सहभागी गराउन अनुमति दिएसँगै यो टिम बलियो बनेको छ। नेपालले त्यसपछि अर्को बलियो टोली चाइनिज ताइपेईको सामना गर्ने छ । साफ च्याम्पियन बन्ने लक्ष्य राखेको नेपालले त्यसैका लागि लामो तयारी गरिरहेको हो ।