
काठमाडौं । इथियोपियाको अफार क्षेत्रमा विस्फोट भएको ज्वालामुखीको खरानी र धुवाँ भारत हुँदै नेपालसम्म आइपुगेको छ । आइतबार विस्फोट भएको ज्वालामुखीको खरानी र धुवाँ नेपालको वायुमण्डलमा प्रवेश गरे पनि समुद्री सतहबाट धेरै माथि रहेकाले प्रदूषण बढाएर जनजीवनमा असर गरिहाल्ने सम्भावना भने नभएको मौसमविद्ले बताएका छन् ।
करिब १२ हजार वर्षपछि पहिलो पटक विस्फोट भएको हायली गुब्बी ज्वालामुखीबाट खरानी, धुवाँ र विभिन्न खनिज पदार्थयुक्त ठूलो बादल बनेको छ। त्यो बादल यमन, ओमान, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो। ज्वालामुखीबाट निस्केको खरानी र धुवाँको बादल समुद्री सतहभन्दा १०-१५ किलोमिटर माथि छ। यो धुवाँ र खरानीयुक्त बादल भोलि बुधबारसम्म नेपाली आकाशमा रहने बताइएको छ ।
इथियोपिया ज्वालामुखी विस्फोटपछि बनेको बादलको प्रभावले सोमबार र मंगलबार भारतका हवाई उडानहरू ठूलो संख्यामा प्रभावित भएका थिए। एयरलाइन्सहरूले ज्वालामुखीबाट उठेको बादल हुँदै उडका जहाजहरूको सुरक्षा जाँच गरिरहेको छ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इथियोपियाको उत्तर–पूर्वी भागमा रहेको यो ज्वालामुखीबाट उठेको धुवाँ १४ किलोमिटर उचाइसम्म पुगेको छ। यसको गति १००–१२० किमी प्रतिघन्टा छ। यसमा मुख्य रूपले खरानी, सल्फर डाइ–अक्साइड तथा साना सिसा र ढुंगाका कण मिसिएका छन्। यसले आकाश सामान्यभन्दा गाढा र धुम्म देखिन बताइएको छ ।