
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति चेल्सी र बार्सिलोनाबीच हभिवेट भिडन्त हुँदैछ।
चेल्सीको स्ट्यामर्फड ब्रिजमा हुने खेलले दुवै टोलीलाई मिडिल टेबलबाट शीर्ष चारसम्म पुग्ने अवसर रहनेछ। ३६ टोली सहभागी लिगमा अहिले समान सात-सात अंक जोडेका बार्सिलोना र चेल्सी ११ र १२औं स्थानमा छन् । यी दुवै टोलीले चार खेलमध्ये दुई जित र एक बराबरी गरेका छन्।
यो समय चेल्सी युवा खेलाडीमा निर्भर छ। क्लबले लगातार ५० प्रिमियर लिग खेलमा ३० वर्ष वा सोभन्दा माथिका खेलाडीलाई पहिलो रोजाइमा नखेलेको तथ्याङ्क अहिले चर्चाको छ। पछिल्लो समय क्वाराबागसँग २-२ को बराबरीमा रोकिएपछि विश्व विजेता क्लब चेल्सीलाई लिगमा धक्का लागेको थियो ।
घरेलु मैदानमा आयाक्स र बेन्फिकालाई हराए पनि अवे मैदानमा चेल्सीको उपस्थिति कमजोर छ। त्यसैले आज घरेलु मैदानमा स्पेनिस जायन्टलाई आतिथ्यता प्रदान गर्दा ऊ जितको लय बचाउने योजनामा हुनेछ। स्टामफर्ड ब्रिजमा छ वर्षयता चेल्सीले कुनै पनि युरोपेली समूह-चरणको खेलमा हार ब्यहोरेको छैन । उसले पछिल्ला १६ मध्ये १२ खेल जितिसकेको छ।
प्रिमियर लिगमा पनि तीन खेलमा क्लिनसिटसहित तालिकाको दोस्रो स्थानमा उक्लिएका छ। यता, बार्सिलोनाले भने ९ सय ९ दिनपछि घरेलु रंगशाला क्याम्प नोउमा फर्किएको बार्सिलोनाले उत्साहसहित जित निकालेको छ। एथ्लेटिक बिल्बाओमाथि ४-० को फराकिलो जित निकालेपछि हान्सी फ्लिकको टोली घरेलु लिगमा बलियो अवस्थामा पुगेको छ।
फेरान टोरेस, लामिने यामाल, रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेज अहिले निकै चम्किएका छन्। तर बार्सिलोनामा डिफेन्सको समस्या समाधान भइसकेको छैन्। एथ्लेटिकविरूद्ध क्लिन सिट राख्दा भने त्यो समास्या कम भएको देखिएको थियो। तर पछिल्लो च्याम्पियन्स लिगको खेलमा क्लब ब्रुगसँग बराबरीमा रोकिँदा भने सोही समस्या प्रष्ट देखिएको थियो। तर उसको अट्याकिङ लाइनअपले सो समस्या ओझेलमा छ।
बार्सिलोना र चेल्सीबीचको पछिल्लो युरोपेली खेल सात वर्षअघि भएको थियो। च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा बार्सिलोना ३-०ले विजयी भएको थियो । तर त्यसपहिलाका सात खेलमध्ये बार्सिलोनाले स्टाम्फोर्ड ब्रिजमा केवल एकपटक मात्र जित हात पारेको रेकर्ड छ। चेल्सी कप्तान रीस जेम्सलाई प्रशिक्षक एनजो मारेसकाले पछिल्लो खेलमा हाफ टाइपछि आराम दिएका थिए।
सो खेलमा आराम पाएका वेस्ली फोफाना थिए। डिफेन्डर टोसीन अदाराबियोयोको खेल आज केन्द्रमा रहनेछ। रोमियो लाविया, कोल पाल्मर, डारियो एसुगो, लेवी कोल्विल र डोपिङ निलम्बन भोगिरहेका मिखाइलो मुद्रकी भने अझै चोट तथा अनुपस्थितिकै कारण उपलब्ध नहुनु चेल्सीका लागि ठूलो घाटा भने हुनेछ। बार्सिलोनाका राफिन्हा चोटबाट फर्किसकेका छन्, फेरान टोरेसले स्थान कायम राख्न पर्याप्त प्रदर्शन गरिसकेका छन् ।
फ्रान्की डे जोङ निलम्बनबाट फर्किएका छन्, तर पेड्री, गाभी र मार्क-आद्रे टेर स्टेगन भने चोटकै कारण बाहिर छन्। च्याम्पियन्स लिगमा मंगलबार राति पौने २ बजे हुने खेलमा म्यानचेस्टर सिटीले लिभरकुसेनको सामना गर्नेछ।