करण केसीको विस्फोटक ब्याटिङपछि काठमान्डु गोर्खाजको दोस्रो जित

लुम्बिनी लायन्स २२ रनले पराजित
मंसिर ९, २०८२ |खेल ब्युरो
करण केसीको विस्फोटक ब्याटिङपछि काठमान्डु गोर्खाजको दोस्रो जित

काठमाडौं । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग-एनपीएलमा आफ्नो दोस्रो जित दर्ता गरेको छ। 

त्रिवि क्रिकेट रंगशालामा एक सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सलाई एक सय ३५ रनमा रोक्दै २२ रनको जित हासिल गरेको हो। यो खेलमा गोर्खाजका कप्तान करण केसीले अलराउन्ड प्रदर्शन गरे । कमजोर सुरूआतका बाबजुद काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई एक सय ५७ रन बनाएको हो । 

पहिले ब्याटिङको निम्तो पाएको गोर्खाजको शीर्षक्रमले खेलमा राम्रो सुरूआत गर्न सकेन। बेन चार्ल्सवर्थलाई पहिलो ओभरमा शेर मल्लले बोल्ड गरे । तेस्रो नम्बरका रशिद खानले १० बलमा २ बाउन्ड्री प्रहार गरेर १४ रन बनाए । ओपनर आकास त्रिपाठीले ३६ बल खेल्दै २ चौकासहित ३२ रन बनाए । ११ औं ओभरमा त्रिपाठी आउट हुँदा गोर्खाजले ५९ रन बनायो । 

मिलिन्द कुमारले १७, जोन सिम्पसन ७, सन्तोष यादव २६, जेहर्राड इरसमस १७ र आदिल अलाम अन्सारी ४ रन बनाइ आउट भए । तल्लोक्रममा ब्याटिङ गरेका करणले करणले ११ बलमा अविजित ३४ रन बनाएर खेललाई गुड नोटमा फिनिस गरे । उनले एक चौका र ४ छक्का प्रहार गरे । 

करणले १९औं ओभरमा नामिबियाका तिव्र बलर रूबेन ट्रम्पलम्यानलाई ४ छक्का र १ चौका प्रहार गरेका थिए । गोर्खाजले सो ओभरमा ३१ रन जोडेको थियो। लुम्बिनीबाट शेर, कप्तान रोहित पौडेल, गुलबदिन नैब र ट्रम्पलमनले २-२ विकेट लिए । रोहितले १ ओभरमा ९, शेरले ४ ओभरमा ३३, नैबले ३ ओभरमा २० र ट्रम्पलम्यानले ४ ओभरमा ४३ रन खर्चे।

जवाफमा लुुम्बनी लायन्स १९ ओभर एक बलमा सम्पूर्ण विकेट गुमाएर एक सय २५ रनमा समेटिएपछि गोर्खाजले २२ रनको जित हासिल गरेको हो। ओपनर सन्दीप जोरा ७, डि आर्की सर्ट २२, गुल्बदिन नैब ११ र रोहित पौडले ११ रन मा आउट भएपछि लुम्बिनीले पनि कमजोर सुरूआत गरेको थियो। 

दिलिप नाथले ३३ बलमा २५ रन खेल्दै विकेट टिकाउने प्रयास गरे। तर उनलाई अर्को एजमा साथ दिने खेलाडी टिक्न सकेनन्। जे जे स्मिथ ८, सुमित महर्जन शून्य र रूबिन ट्रम्पलम्यान पाँच रनमा आउट भए । शेर मल्लले २७ रनको योगदान गरे पनि लुम्बिनीलाई जितसम्म पुर्याउन सकेनन्।

गोर्खाजका लागि मिलिन्द कुमार र जेरार्ड इरास्मसले समान २-२ विकेट लिएका थिए। करण केसी, शाहब आलम, सन्तोष यादव र राशिद खानले एक-एक विकेट आफ्नो नाममा गरे। गोर्खाजले चारमध्ये दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ। लुम्बिनीले भने आफ्नो तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको हो।