विशेष सम्पादकीय : आशा जगाउनैपर्ने २०८२ साल

वैशाख १, २०८२ |विजय पौडेल
विशेष सम्पादकीय : आशा जगाउनैपर्ने २०८२ साल

राजनीतिक अस्थिरताको निरन्तरतालाई चिर्दै २०८१ सालमा संसद्‌मा रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार निर्माण हुँदा आशंकाका बीच पनि नागरिकमा आशाको सञ्चार भएको थियो । तर, दलहरू सचेत नहुँदा असन्तुष्टि, आन्दोलन र अराजकताको भुमरीकै बीच नयाँ वर्ष ‍२०८२ सुरु भएको छ । राजनीतिदेखि वातावरणसम्मै प्रदूषणको मारमा परेको २०८१ सालभन्दा यो वर्ष कसरी पृथक् बनाउने ? र आम नागरिकले नयाँ वर्षको हर्षबढाइँ कसरी गर्ने ?

यी प्रश्न जति आम सुनिन्छन् त्यति नै महत्त्वपूर्ण पनि छन् । किनकि, यसप्रति जवाफदेही राजनीतिक नेतृत्व हुनुपर्छ ।

देशको अर्थतन्त्रको मेरुदण्ड, विदेशबाट नेपालीले कमाएर पठाएको रेमिट्यान्स बढेको बढेकै छ । २०८१ को यो सुखद् पक्ष हो । तर त्यसको उचित प्रयोग नहुँदा तीनै विदेशमा बसेका नेपाली सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिरहेका छन् । विश्वास गरेका दलहरूले ठीकसँग काम नगर्दा त्यो आक्रोशको फाइदा गलत समूहहरूले लिइरहेका छन् । भ्रष्टाचारदेखि ग्रे लिस्टसम्मका विभिन्न सूचीमा हामी माथिमाथि उक्लिरहेका छौं ।

चैतको गर्मीमा काठमाडौंका सडक व्यवस्था विरोधीको आन्दोलनले तातियो । सतहमा यो आन्दोलन गणतन्त्रकै खिलाफमा देखिए पनि यसको जरा भने नागरिकमा रहेको असन्तुष्टि हो, जसको समाधान केवल विकास र सुशासन हो । शिक्षक, आवासीय चिकित्सक, सहकारीपीडित, मिटरब्याजपीडित लगायत विभिन्न पेशाकर्मीहरू पनि सडकमा उत्रिए । सरकार विरुद्ध राजनीतिक मोर्चाहरू तयार भए । अनि यही बेला सरकार र सत्तारुढ दलहरू भने वायु प्रदूषणले धुम्मिएको आकाश जति पनि खुल्न सकेनन् । चाहिने जवाफदेहिता हो, उनीहरू जवाफ फर्काएर बसेका छन् । चाहिने समाधान हो, उनीहरू समस्याको कहानी सुनाइरहेका छन् । चाहिने तत्परता हो, उनीहरू या तटस्थता देखाइरहेका छन् या त तर्किरहेका छन् । समाधान डेलिभरी हो उनीहरू आवाज उठाउनेहरूलाई निषेध गरिरहेका छन् ।

झन्डै १८ महिना सरकारको नेतृत्व गरेर हाल विपक्षमा रहेको माओवादी केन्द्र सडकमा भइरहेका हरेक गतिविधिको दोष वर्तमान सरकारलाई दिइरहेको छ । विपक्षी दलहरू त मोर्चा नै कसेर सरकारमाथि धावा बोलिरहेका छन् । उदेकलाग्दो त के भने सत्तारुढ दलहरू समेत सरकारबाट परिणाम दिनभन्दा सरकारले कामै गर्न सकेन भन्दै भाषणबाजीमा उत्रिएका छन् । यो बेला आफूलाई संघीय लोकतन्त्रको पक्षधर शक्ति दाबी गर्नेहरू एक ठाउँमा उभिनुपर्ने हो, तर विभक्त छन् । एकजुट भएर व्यवस्थाविरोधीलाई सम्बोधन गर्न असफल छन् । बरु एकअर्कोलाई आरोपित गर्नमै मस्त छन् ।

देशका कुनै पनि क्षेत्र, कुनै पनि अंग वा भनौं कुनै पनि संयन्त्र त्यस्तो भेटिँदैन जसबाट नागरिकले अलिकति खुशीको, ढुक्कको, आशाको, अनुभूत गरून् । विकास र सुशासनको अभावले नागरिक कतिसम्म आजित भइरहेका छन् भन्ने २०८१ सालले देखाएको छ । विकासको नियमित सुस्त निरन्तरताभन्दा फरक २०८१ सालमा देख्न सकिएन । २०८२ साल नागरिकका यिनै समस्या समाधान गर्ने र निराशालाई चिर्ने अर्को अवसर हो । यो अवसरलाई वहन गर्ने जिम्मेवारी राजनीतिक नेतृत्वकै हो । संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक दलको विकल्प राजनीतिक दल नै हो । जुन विकल्पको खोजी नागरिकले मतदानबाट गर्छन् ।

२०८१ सालमा जे-जति भए-गरिए, त्यसलाई समीक्षा गर्दै कमीजोरीहरूबाट पाठ सिक्दै अब नयाँ वर्षमा नयाँ ऊर्जा देखिनै पर्छ । नयाँ गति बढाउनै पर्छ । समाजको बदलिँदो मनस्थितिलाई सम्बोधन गर्नैपर्छ ।

समय यस्तो प्यान्डोरा बक्स हो, जहाँबाट हामीले जे चाह्यौं त्यही निकाल्न सक्छौं । २०८२ को नयाँ दिनमा टेक्दै गर्दा आम नागरिकका हातमा के पार्ने ? भन्ने अवसर अहिलेको नेतृत्वसँगै छ । नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना ।


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।