काठमाडौं । सरकारले ६५ वटा रुग्ण सडक र पुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।
मध्यपहाडी, हुलाकी राजमार्गसहित मुख्य राजमार्गमा पर्ने खण्ड र दर्जनौं पुलको ठेक्का तोड्न सार्वजनिक सूचना जारी गर्नुका साथसाथै निर्माण कम्पनीहरूलाई पत्राचार गरिएको हो । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले मात्रै आफ्नो कार्यक्षेत्रमा पर्ने सडक-पुलका ठेक्कामध्ये १ सय ७ बटा रुग्ण रहेको जिकिर गरेको छ ।
त्यसमध्ये ३० वटाका ठेक्का तोड्न पत्राचार गरिएको छ । देशभर करिब २ सय ५० भन्दा बढी रुग्ण ठेक्का रहेको र क्रमिक रूपमा ठेक्का तोड्दै जाने सडक विभागले जनाएको छ । सरकारले रुग्ण ठेक्कामा राखेका आयोजनाहरु १५ वर्षअघि ठेक्का लिएका सम्मका छन् ।
जसको सम्झौता पटक-पटक थप गरे पनि निर्माण नसकिएपछि सरकारले १५ दिने सूचना जारी गरेको छ । १५ दिनभित्र पनि निर्माण कम्पनीले कारण पेस नगरे पहिलो चरणअन्तर्गत ६५ वटा सडकको ठेक्का तोडिने छ । गत वर्ष सरकारले एक सयवटा रुग्ण सडक र पुलको ठेक्का तोडेको थियो ।