राजनीतिक कार्यक्रमका नाममा अराजकता सह्य छैन !

चैत्र १५, २०८१ |विजय पौडेल
राजनीतिक कार्यक्रमका नाममा अराजकता सह्य छैन !

सञ्चार माध्यम, राजनीतिक दलको कार्यालय र विभिन्न व्यापारिक कम्प्लेक्समा लुटपाट, तोडफोड र आगजनी गरेर पूर्वराजावादी समर्थक समूहले यो कुनै राजनीतिक आन्दोलन होइन भन्ने प्रष्ट पारेको छ ।

संविधानले नागरिकलाई दिएको अधिकारलाई सुरक्षित राख्दै सरकारले राजतन्त्र पक्षधरहरूलाई कार्यक्रम गर्न काठमाडौँको कोटेश्वर तीनकुनेको खुला चौर तोकिदिएको थियो । सोही बमोजिम उनीहरूले मञ्च बनाएर आमसभाको तयारी पनि गरेका थिए । तर, आमसभामा आएकाहरू कार्यक्रम स्थलतर्फ जानुभन्दा स्थिति भड्काएर अराजकता मच्चाउने तर्फ केन्द्रित भए ।

यसको सुरुवात राजतन्त्र पक्षधरको नेतृत्व गर्छु भन्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईले नै गरे । उनले सुरक्षा घेरा तयार पारेर बसेका सुरक्षाकर्मीमाथि आफैँले गाडी कुदाएर जबरजस्ती पेलेपछि नै स्थिति तनावग्रस्त हुनु सुरु भयो । यो सँगै तीनकुनेमा रहेका विभिन्न व्यापारिक कम्प्लेक्समाथि आक्रमण र आगजनी भयो भने कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा भयो । राजनीतिक दल नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको कार्यालयमा पनि तोडफोड भयो ।

यसैगरी यो समूहले जडीबुटी प्रशोधन कार्यालयमा पनि आगजनी गर्यो भने कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्यो । यि दिनभरका घटनाक्रमबाट राजनीतिक कार्यक्रमको आडमा राजतन्त्र पक्षधर समूह उच्छृङ्खल गतिविधि गरेर तथा स्थिति भड्काएर अराजकता मच्चाउन खोजेको प्रष्ट देखिएको छ । यो सरासर कानुनको उल्लंघन हो र यस्ता गतिविधि गर्नेलाई हदैसम्मको कारबाही हुनै पर्दछ । अराजक र अनियन्त्रित भीडको प्रदर्शनकै क्रममा व्यक्तिको निजी भवनमा भएको आगजनीमा परेर एभेन्युज टेलिभिजनमा कार्यरत पत्रकारको निधनसमेत भएको छ ।

नेपालको संविधानले भेला हुने सभा गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने छुट सबै नागरिकलाई दिएको छ । राजतन्त्र पक्षधरहरूलाई पनि यो अधिकार प्राप्त छ । उनीहरूलाई वर्तमान राजनीतिक प्रणाली र नेतृत्वको आलोचना गर्ने छुट पनि छ । तर आगजनी लुटपाट र तोडफोड गरेर गैरकानुनी गतिविधि गर्ने छुट उनिहरूलाई छैन । यो फौजदारी छानबिनको विषय हो र सरकारले छानबिन गरेर दोषीलाई दण्डित गर्नै पर्दछ ।

सरकार मातहतका निकायले समेत शुक्रबार भएको सुरक्षा चुकको समीक्षा गर्दै भविष्यमा यस्ता घटना हुन नदिन पर्याप्त सतर्कता अपनाउन हामी अनुरोध गर्दछौं । तीनकुनेस्थित कान्तिपुर कार्यालयमा आक्रमण भइरहँदा लामो समयसम्म सुरक्षा निकाय उपस्थित नुहुनु सुरक्षा निकायमाथि नै हाम्रो प्रश्न हो ।

कान्तिपुर मिडिया ग्रुप नेपाली जनताको आन्दोलनले स्थापित नेपालको संविधान संघीय लोकतान्त्रिक गणतन्त्र, कानुनको शासन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव दृढ छ । माओवादी शसस्त्र विद्रोह तत्कालीन राजाको प्रत्यक्ष निरंकुश शासनलगायतका कुनै पनि घटनामा निरन्तर नागरिकको सूचनाको अधिकारको पक्षमा अडिग रहेको कान्तिपुर मिडिया ग्रुप अहिलेका यस्ता गतिविधिबाट किञ्चित पनि विचलित भएको छैन र हुने पनि छैन ।

राजनीतिक कार्यक्रमका आडमा अराजकता मच्चाउने लुटपाट गर्ने आगजनी गर्ने व्यक्ति वा समूहलाई हदैसम्मको कानुनी कारबाही हुनै पर्दछ । शुक्रबारको कार्यक्रमको राष्ट्रिय प्रजातन्त्र पार्टी र ‍राजतन्त्र पक्षधर विभिन्न समूहले आयोजना गरेकाले राजनीतिक दल सञ्चार माध्यम र व्यापारिक कम्प्लेक्समाथि भएको लुटपाट र आगजनीको घटनाको जिम्मेवारी उनीहरूले नै लिनुपर्दछ । एउटा राजनीतक दल विचार र सिद्धान्तमा रहेर आन्दोलन गर्न सक्छ, प्रदर्शन गर्नसक्छ तर लुटपाट र आगजनी गर्न सक्दैन । सरकारले यस्ता घटनामा संलग्नलाई फौजदारी अपराधमा कानुनी कारबाही गर्नै पर्दछ ।


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।