सम्पादकीय- मतदाताको विवेक नै रूपान्तरणको प्रस्थानबिन्दु

फाल्गुन १८, २०८२ |रुपेश श्रेष्ठ
सम्पादकीय- मतदाताको विवेक नै रूपान्तरणको प्रस्थानबिन्दु

जितहार अब केही दिनको कुरा हो । 

जसको विशेषाधिकार तपाईं र मजस्ता आम मतदाताको हातमा छ । र, यसपालि मतदाताका हात माथि छन् । दल र उम्मेदवारका तल ।

हामी किन पनि यसो भनिरहेका छौँ भने जेन-जी आन्दोलनपछि आकस्मिक र अप्रत्यासित रूपमा बदलिएको परिदृश्यमा यो निर्वाचन हुन गइरहेको छ । राजनीतिक परिदृश्य त बदलिएको छ नै, विद्यमान राजनीतिक दलहरूका शक्ति र प्रभावमाथि नै प्रश्न उठेको छ । जनादेशलाई ‘पकेट क्षेत्र’का रूपमा हेर्ने दल र उम्मेदवारहरूले यसपटक यो शब्द उच्चारण नै गरेका छैनन् । लोकतन्त्रका लागि यो ठूलो सफलता हो ।

यो समयको सौन्दर्य के पनि हो भने भाषणको बलमा चुनाव जित्ने नेताहरू आफ्ना मतदाताका दैलामा घुँडा टेकिरहेका छन् । संगठित कार्यकर्ता र समर्थकमा भरपर्ने नेताहरू पार्टीको कोटरीभन्दा बाहिर पुगेका छन् । चुनौती सबैका सामु बराबर छ । हारिएला कि भन्ने डर सबैलाई छ ।

डर हुनुपर्छ । मतदातासँग नेता डराउनुपर्छ । जहाँ शासक जनतासँग डराउँदैन, त्यहाँ लोकतन्त्र उन्नत हुन्छ भन्ने कल्पना गर्न सकिँदैन । आज दैलोमा पुगेर मतदातालाई जवाफ दिँदै हिँड्नेहरू भोलि पनि जवाफदेही रहनेछन् भन्ने अपेक्षाका कारण पनि चुनावअघिको यो डर सकारात्मक छ ।

जब निर्णय स्वतन्त्र मतदाताको हातमा हुन्छ, तब निर्णय सही हुन्छ भन्ने लोकतान्त्रिक प्रणालीको विश्वास हो । फागुन २१ मा हामीले यो मान्यतालाई यथार्थमा बदल्नुपर्नेछ । यसपटक चुनावले केही नवीन निर्णयहरू गर्नेछ । केही विरासतहरू ढल्नेछन्, केही परीक्षण असफल हुनेछन् । नसोचिएका र अपेक्षा नगरिएका पात्रहरू राजनीतिको मियो बनेर उदाउन सक्नेछन् । नयाँ पुस्तासँगै नवीन सोच र प्रवृत्ति पनि स्थापित हुनेछन् । तर सँगै मतदातालाई डर पनि छ, परिवर्तनको दौडमा यथास्थितिहरू त ढल्लान् तर कतै नयाँ अस्थिरताको बीजारोपण हुने त होइन ? 

नयाँ संस्कारको उदय हुँदा केही जोगाइराख्नुपर्ने संवाद र सहअस्तित्वको वातावरण भत्कने त होइन ? लोकतन्त्रका स्थापित मानक इतिहासमै सीमित हुने त होइन ? हुन त लोकतन्त्रमा निषेधको कुरा हुँदैन । तर यो निर्वाचनले सम्भवतः ठूला भनिएका, शीर्ष र वर्षौँदेखि राज्यसत्तामा रजगज चलाइरहेका धेरैलाई एकैपटक असान्दर्भिक बनाउँदै छ । 

धेरै त चुनावअघि नै किनारीकृत भइसकेका छन् । बाँकीका हकमा मतदाताले विवेकपूर्ण निर्णय गर्ने नै छन् । वर्षौँसम्म उन्नत राजनीतिक व्यवस्था स्थापना गर्न नेताहरूले भोट मागिरहे । जब व्यवस्थाको माग जनआन्दोलनमार्फत् जनताले सम्बोधन गरिदिए, त्यसपछि संविधानको कुरा उठ्यो । संविधान पनि बन्यो । तर त्यसपछि पनि राजनीतिक अस्थिरतालाई देखाउँदै जनताका आधारभूत आकांक्षाहरूलाई छायामा पारियो । 

जनताले फेरि पत्याए, कुनै अमूक दललाई बहुमत दिए । तर आन्तरिक कलहमा जनादेश कुल्चिइयो । अब त विकासका कुरा उठ्लान्, आधारभूत आवश्यकता सम्बोधन होलान् भन्दाभन्दै अघिल्लो निर्वाचनले पनि त्यो अवसर दिएन । यसपटक पनि जनताको कुरा सुन्ने फुर्सद प्रायः दल र उम्मेदवारलाई छैन । सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख मुद्दा बनाएका छन् । 

जेन-जी आन्दोलनले उठाएको यो मुद्दा प्रमुख जरुर हो, तर मुद्दा यति मात्र होइन । एक हिसाबले हेर्ने हो भने, दलहरूमा ‘हामी भ्रष्ट भयौँ’ भन्ने स्वीकारोक्ति पनि हो यो । अर्कोतर्फ प्रश्न उठ्छ, भ्रष्टले नै भ्रष्टाचार नियन्त्रण कसरी गर्छन् ? आज मध्यरातिबाट हामी शून्य समयमा जाँदै छौँ । 

यो हाम्रा आवश्यकता, चाहना र आकांक्षाहरूको परख गर्ने समय हो । र हो, ती आवश्यकता, चाहना र आकांक्षालाई सम्बोधन गर्नसक्ने नेतृत्वको खोजीको । यही अवधिमै मतको मोलमोलाइ र चलखेल गर्ने प्रयास हुने गरेको विगतका प्रवृत्तिले देखाउँछ । त्यसैले हरेक मतदाताले आफ्नो अमूल्य मत विवेकसम्मत बनाउन चनाखो हुन पनि आवश्यक छ ।

सार्वभौम मतदाताको विवेक नै सर्वोपरि हो । त्यसैले परिणाम जे हुन्छ, त्यो परिवर्तन र रूपान्तरणको प्रस्थानबिन्दु हुन्छ भन्नेमा हामी स्पष्ट छौँ । यस्तै स्पष्ट, जनादेश र मतादेश खोजिरहेकाहरू पनि हुन आवश्यक छ । मैमत्त आत्मविश्वासले हामीलाई पटक पटक झुक्याइसकेको छ, त्यो दुस्साहस अब कसैले नगरोस् ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख हुन् ।