विशेष सम्पादकीय : ‘भ्रष्टाचारमाथि निर्मम प्रहार गर्दै सुशासन कायम गर्ने प्रयासमा कान्तिपुरको साथ रहनेछ’

असार २९, २०८१ |विजय पौडेल
विशेष सम्पादकीय : ‘भ्रष्टाचारमाथि निर्मम प्रहार गर्दै सुशासन कायम गर्ने प्रयासमा कान्तिपुरको साथ रहनेछ’

कान्तिपुर टेलिभिजनले २१ वर्षदेखि निरन्तर सत्य, तथ्य र विश्वसनीय समाचार र कार्यक्रम प्रसारण गर्दै आएको छ । नागरिकका पक्षमा सधैं वकालत गर्दै आएको कान्तिपुर टेलिभिजनले आगामी दिनमा पनि आफ्नो अभिभारा पूरा गर्दै अगाडि बढ्नेछ ।

देश यतिखेर आर्थिक अप्ठ्यारो र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ । समाज र देशको भविष्य अन्योलमै रुमलिएको छ । २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएयता नै आठवटा सरकार बन्ने स्थिति त्यसैको परिणाम हो ।

२०६० सालमा कान्तिपुर टेलिभिजन स्थापना हुँदा पनि मुलुकमा राजनीतिक स्थायित्व थिएन । बरु तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्व र सक्रिय राजतन्त्रका बीच राजनीतिक दलहरु सत्ता तानातानमै थिए । सञ्चारमाध्यम दुवै पक्षको निशानामा थियो । ०६२/६३ सालको जनआन्दोलनपछि सशस्त्र द्वन्द्व र राजतन्त्र अन्त्य त भयो तर सत्ताको द्वन्द्व रोकिएन । गणतन्त्र स्थापना भएपछि जनताका छोराछोरी नेतृत्वमा पुगे पनि शासकीय शैलीमा परिवर्तन नआउँदा जनताको हित र विकासका कुरा सत्ता दाउपेचले थिलथिलो भएको छ ।

यो स्थितिको अन्त्य गर्दै लोकतन्त्रको रक्षा, विधिको शासन तथा सत्य, तथ्य र निष्पक्ष सूचनाको गहन जिम्मेवारी निर्वाह गर्न कान्तिपुर टेलिभिजन हिजो पनि प्रतिबद्ध थियो र भोलिका दिनमा समेत यसैलाई दायित्व मानेर अघि बढ्नेछ ।

२०७२ सालको विनाशकारी भूकम्प र विश्वलाई नै अत्याएको कोरोना महामारीका बेला पनि हामी सही सूचना र जिम्मेवारपूर्ण समाचार प्रसारणमा विचलित भएनौं । राज्यशक्तिको दुरुपयोग गर्दै शासकहरुको शक्ति उन्मादले कान्तिपुरको नेतृत्वमाथि नै धरपकड गर्दासमेत हामीले सही सूचना जनतासम्म पुर्याउने दायित्व बिर्सेनौं ।

लोकतन्त्रको रक्षा, आमजनताको हित र उनीहरुको आवाज मुखरित गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । त्यो हामीले कहिल्यै भुलेका छैनौं र भुल्ने पनि छैनौं । सूचना प्रविधिको विकासले ल्याएका परिवर्तनसँगै गलत र भ्रामक सूचनाको बाढीबाट जोगिनुपर्ने चुनौतीका बीच पनि संस्थागत पत्रकारिताको दायित्व र जिम्मेवारी पूरा गर्न हामी प्रतिबद्ध छौं ।

सूचना प्राप्तिका लागि प्रविधिमा अभ्यस्त पुस्ताको चाहनाबमोजिमको डिजिटल प्रविधि प्रयोगमार्फत भोलिका दिनमा अझ विस्तारित हुने हाम्रो तयारी छ । तर विस्तारित भइरहँदा हामी जिम्मेवार पनि उत्तिकै हुनेछौं ।

समाजलाई गलत दिशामा लैजाने कुनै पनि गतिविधिमाथि हामी निरन्तर खबरदारी गर्नेछौं । भ्रष्टाचारमाथि निर्मम प्रहार गर्दै सुशासन कायम गर्ने प्रयासमा हाम्रो साथ रहनेछ ।

सत्तालाई जनताप्रति जवाफदेही बनाउँदै सही सूचना सम्प्रेषण, प्रेस स्वतन्त्रताको रक्षा र समुन्नत समाजको निर्माणमा सघाउन जनजनका मुद्दालाई समाचारका विषय बनाएर विविधतापूर्ण र समावेशी सामग्रीका साथ राष्ट्रको टेलिभिजनका रुपमा कान्तिपुर टेलिभिजन अगाडि बढिरहनेछ । एक्काइसौं वार्षिक उत्सवको अवसरमा कान्तिपुर टेलिभिजनको यो अभिभारामा साथ दिनुहुने तपाईं सबैप्रति हार्दिक आभार एवं धन्यवाद ।


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।


Enter Kantipur TV HD
Advertisement