‘सेतो सुन’ मखना खेतीतर्फ किसानको आकर्षण

भारतमा ‘सेतो सुन’, नेपालमा संघर्ष
भाद्र २३, २०८३ |रमा दाहाल|विकास आर्या|अमरकान्त ठाकुर
‘सेतो सुन’ मखना खेतीतर्फ किसानको आकर्षण

काठमाडौं । खासगरी तिहार र अन्य चाडबाडका बेला हाम्रो घरमा प्रयोग हुने मखना कहाँ र कसरी उत्पादन हुन्छ भन्ने तपाईँलाई थाहा छ ? 

भारतबाट आयातित मखनामा निर्भर हाम्रो चाडबाडका थोरै भए पनि स्वदेशी उत्पादनको योगदान छ । महोत्तरीमा पहिल्यैदेखि यसको खेती भइरहँदा झापा र धनुषामा खेती विस्तार भएको छ । नौलो बाली भित्र्याउन किसान व्यस्त छन् । तर, काँडेदार पात पन्छाउँदै दबदबे हिलोभित्रका दाना टिपिरहेका किसानलाई यसको प्रशोधनदेखि बजारसम्मको चिन्ता छ ।

यसरी हिलोभित्र दबिएका मखना टिप्ने काम चुनौतीपूर्ण छ । नौली खेती भएकाले भारतबाट झिकाइएका सिपालु मजदुरले मात्रै मखना टिप्न सक्छन् । झापाको कचनकवलमा काँडेदार पात पन्छाउँदै हिलोभित्र दबिएका मखनाका ससाना दाना बटुल्दै गरेको दृश्य स्थानीयका लागि अनौठो छ ।

तर, मखना खेती गरेका किसान नेपालमै प्रशोधन कारखाना नहुँदा र भारत निकासीको स्वीकृति नपाउँदा पिरोलिएका छन् । भारतमा सेतो सुनको परिचय बनाएको मखना प्रति केजी भारु दुई हजारसम्ममा बिक्री हुन्छ । हाल भारतबाट आयातित मखना नेपाली बजारमा निर्बाध बिक्री भइरहे पनि यहाँ उत्पादित मखना भारत निकासीको सूचीमा भने छैन । 

त्यसैले यसको फल प्रशोधन गर्न भारत लैजान किसानलाई धेरै सकस छ । यो वर्ष कचनकवलमा करिब १५ सयदेखि २ हजार क्विन्टल मखना फल्ने अनुमान छ । उचित बजार पाउने हो भने किसानले यो सिजनमा मखनाबाट ७ करोडभन्दा धेरै आम्दानी गर्ने छन् ।

यता धनुषाका केही किसानले यस वर्ष मखना खेती गरेका छन् । वैदेशिक रोजगारीबाट गाउँ फर्केका मुखियापट्टी मुसहरनिया गाउँपालिकाका १० जना किसानले तीन विघामा सामूहिकरूपमा पहिलोपटक मखना खेती गरेका हुन् । मिठो स्वादसँगै क्याल्सियम, म्याग्नेसियम, पोटासियम र फस्फोरसजस्ता पौष्टिक तत्व पाइने मखनाको माग बढ्दै गएपछि फेरि किसान यसको खेतीमा फर्किएका हुन् । 

किसानलाई स्थानीय सरकारले तीनवटा पोखरी र ८० प्रतिशत अनुदान उपलब्ध गराएको छ । पोखरीमा माछापालन गर्दा आम्दानी बढी हुने भएपछि किसानहरू त्यसमै लाग्दा महोत्तरीमा पनि मखना खेती गर्ने किसान नगन्य मात्रै थिए । तर, बजार बढ्न थालेपछि महोत्तरीका किसानहरू पुनः मखना खेतीमै फर्किन थालेका छन् ।

पग पग पोखरी माछ मखना, सरस बोल मुस्की मुह पान मैथिली भाषाको यो वाक्यले मिथिला क्षेत्रमा मखनाको महत्व दर्शाउँछ । मिथिला क्षेत्रमा हुने अधिकांश देव कार्यमा मखनाको प्रयोग हुने भएकाले यहाँ मखनाको माग पनि बढ्दै गइरहेको छ । जसले गर्दा मखना उत्पादनमा अन्य बालीभन्दा अत्यधिक मिहिनेत भए पनि किसानहरु यसमा लागेका छन् । 

मखना खेतीका लागि पोखरीमा सुरुवाती चरणमा मिहिनेत र लगानी आवश्यक पर्छ । तर, एकपटक खेती तयार भएपछि किसानले लामो समयसम्म उत्पादन लिन सक्छन् । संकलित मखनालाई घाममा सुकाइन्छ । त्यसपछि आगोमा भुटेर लावा निकालेर बिक्री गरिन्छ । 

सामान्य खेतीभन्दा फरक तरिकाले गरिने भएकाले मखना उत्पादनमा किसानको मिहिनेत बढी भए पनि भाउ राम्रो हुँदा आम्दानीको सम्भावना पनि उत्तिकै रहेको छ । मधेश प्रदेश सरकारले गत आर्थिक वर्षको आफ्नो नीति तथा कार्यक्रममा मखना खेतीको विकास गरी प्याकेजिङ्, लेबलिङ तथा ब्रान्डिङलाई प्रोत्साहन गर्ने निति लिएको थियो तर त्यो कागजमै सिमित रह्यो । 

महोत्तरीको मटिहानी नगरपालिकाले भने मखना खेतीका लागि सिँचाइ सुविधा, प्रचारप्रसार तथा बजारीकरणको क्षेत्रमा काम गरिरहेको छ । मखना मिथिलावासीका लागि खाद्य वस्तु मात्रै नभइ धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको सामग्रीसमेत हो ।

यहाँ चाडपर्व, पूजाआजा, विवाह, व्रतबन्धमा मखना अनिवार्यजस्तै छ । विशेषगरी कोजाग्रत पूर्णिमाका दिन मिथिला क्षेत्रमा ठूलो परिमाणमा मखनाको कारोबार हुने गर्छ । दीपावली र छठ पर्वमा पनि यसको प्रयोग उल्लेख्य हुन्छ । नेपालमा उत्पादित मखनाको परिमाण निकै सानो भएकाले बजारको ठूलो हिस्सा भारतबाट आयात हुने गरेको छ । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।

Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।

Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।